
काठमाडौं । मन्त्रिपरिषद्बाट सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० पारित भएको छ । सामाजिक सञ्जाललाई नियमन गर्न सरकारले निर्देशिका ल्याएको हो ।
निर्देशिकामा नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल अनिवार्यरूपमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताका लागि पनि विभिन्न व्यवस्था गरिएको छ ।
निर्देशिकामा उल्लेख भएअनुसार अब फेक आईडी बनाउन पाइने छैन । फेक आईडीबाट विषयवस्तु प्रकाशन तथा प्रसारण गर्न पनि पाइने छैन । त्यसैगरी फेक आईडीबाट अरूको विषयवस्तु सेयर गर्ने वा कमेन्ट गर्न रोक लगाइएको छ ।
अबदेखि सामाजिक सञ्जालबाट कुनै समुदाय, जातजाति, लिंग, धर्म, उमेर, वर्ण, वर्ग, पेसा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसंख्यक, भाषाभाषी तथा कानुनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्बिर सेयर गर्ने एवम् ट्रोल बनाएर प्रकाशन र प्रसारण गर्न पाइने छैन ।
अरूलाई होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाएर घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्ने प्रकारको क्रियाकलाप गर्न पनि रोक लगाइएको छ ।
डिजिटल माध्यमको प्रयोगबाट कुनै व्यक्तिको तस्बिर विकृतरूपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्न पनि रोक लगाइएको छ ।
निर्देशिकामा सार्वजनिक प्रकृतिकाबाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न नहुने भनिएको छ ।
यसैगरी अश्लील शब्द, तस्बिर, भिडियो, अडियो एनिमेसन प्रसारण तथा प्रकाशन गर्न पाइने छैन ।
मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्न पनि निर्देशिकाले रोक लगाएको छ ।
सामाजिक सञ्जाल प्रयोग गरी कसैको आईडी तथा सूचना ह्याक गर्न पनि नहुने भनिएको छ ।