
जाजरकोट । गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किन् । उनी निस्कने क्रममा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन् । उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आएकी छन् ।
उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र शरीर हल्लाइरहेको जस्तो समस्या देखिएको छ । खुल्ला सडकभन्दा माथि त्रासले जान नसक्नुभएका थापाकी १४ वर्षीया छोरीसमेत राति सुतिरहेको समयमा ‘हल्लायो हल्लायो’ भन्दै समय समयमा बोल्ने गरेको रमिताले बताइन् । भूकम्पले मानसिक त्रासमा रहेका अधिकांश सदरमुकामवासी अहिले सडकको छेउछाउमा त्रिपालको सहारामा रातदिन कटाइरहेका छन् । सदरमुकामदेखि बाहिर घर भएर सदरमुकाम भाडामा बस्दै आएका सर्वसाधारण भाडाकै घर भत्किएपछि समस्यामा परेका छन् ।
राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनीका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए । वडा कार्यालयमा त्रिपाल माग्न जाँदा घरधनीबाहेक अन्यले नपाउने भनेपछि आफूहरु हैरानीमा परेको उनको भनाइ छ । खुल्ला चौरमा बस्दै आएको मिलनको परिवार अहिले राहत, माग्दामाग्दा हैरान भएपछि हाम्रो कोही रहेनछ भन्दै निराश भएका छन् ।
त्यस्तै, अर्का गणेश थापाले वडा कार्यालयमा त्रिपाल माग्न जाँदा नपाएको गुनासो गरे । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई पीडा सुनाएपछि पुन ः एक थान त्रिपाल पाएको उनले सुनाए । सुरुमा क्षति भएको नामावली सङ्कलन गरी हाम्रो पनि लिएको थियो, अहिले हाम्रो नाम लिष्ट छैन भन्दै त्रिपाल नदिने कुरा सुन्दा आफू थप मारमा परेको थाप्लेका झलक मल्लले बताए । घर पूर्ण रुपमा भत्किएर समस्यमा परेको उनको परिवारले अहिलेसम्म त्रिपालसम्म पाउन सकेको छैन । यो परिवारले घर भत्किएपछि कुनै पनि सामग्री घरबाट निकाल्न नपाएको गुनासो गरेको छ । भूकम्पको केन्द्र रहेको बारेकोट गाउँपालिकामा समस्या रहँदै आएको छ । समयसमयमा भूकम्पको पराकम्प जाने क्रम जारी रहेपछि काममा निस्कने जाँगर नै नचलेको बारेकोट गाउँपालिका–४ का प्रेम बोहराले बताए ।
बालबालिका र वृद्ध सबैभन्दा बढी त्रासमा भएको उनले बताए । घरसँगै विद्यालयसमेत भत्किएपछि बालबालिका थप मानसिक समस्यामा छन् । घर भत्किएको छ भने पढ्न जाने विद्यालयसमेत भत्किएको छ । बिस्तारै विकासको लयमा आउन लागेको जाजरकोटमा भूकम्पले फेरि एकपटक विकासको बाटो बन्द गरिदिएको छ ।
कुन पालिकामा कति क्षति
भेरी नगरपालिकामा तीन सय ४४ घर पूर्णरुपमा भत्किएका छन् भने आंशिक सात सय १२, दुईवटा विद्यालय पूर्ण रुपमा भत्किएको र १७ वटा आंशिक रुपमा क्षति भएको छ ।
त्यस्तै भेरी नगरपालिकामा पाँचवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । मृत्युको सङ्ख्या ३६ रहेको छ भने घाइते ६५ रहेको छ । नलगाड नगरपालिकामा दुई सय घर पूर्णरुपमा क्षति भएको र ६ सय घर आंशिक भत्किएका छन् । विद्यालय १२ पूर्ण रुपमा भत्किएका छन्भने आंशिक रुपमा २१ वटामा क्षति पुगेको छ । ६ वटा सरकारी कार्यालयमा क्षति भएको छ । मृत्यु हुनेको सङ्ख्या ५२ रहेको छ । ७३ जना घाइते भएका छन् । छेडागाडमा एक सय घरमा पूर्ण क्षति भएको र आंशिक रुपमा पाँच सयमा क्षति भएको छ ।
तीन विद्यालयमा आंशिक क्षति भएको पाइएको छ । मृत्यु दुईजनाको भएको छभने घाइते एकजना भएको बताएको छ । कुशे गाउँपालिकामा ९५ घर पूर्णरुपमा क्षति भएको छभने तीन सय एकवटा आंशिक रुपमा क्षति पुगेको छ ।
चारवटा विद्यालय पूर्णरुपमा भत्किएका छन्भने १७ वटा आंशिक रुपमा क्षति भएको पाइएको छ । सरकारी कार्यालय एकवटा पूर्णरुपमा भत्किएको छभने १७ आंशिक रुपमा क्षति पुगेको छ । दुईजनाको मृत्यु र एकजना घाइते भएको कुशेमा पाइएको छ । प्रहरीका अनुसार १६० घरहरु पूर्ण रुपमा बारेकोटमा भत्किएका छन्भने पाँच सय ६० घर आंशिकरुपमा क्षति पुगेको छ । पाँचवटा विद्यालय पूर्णरुपमा भत्किएका छन्भने दुईवटा आंशिकरुपमा भत्किएको पाइएको छ । एक सरकारी कार्यालय पूर्ण रुपमा भत्किएको र दुई कार्यालय आंशिक क्षति पुगेको जानकारी प्राप्त भएको छ । चारजनाको मृत्यु तथा चारजना घाइते भएका छन् ।
शिवालय गाउँपालिकामा एक घर पूर्णरुपमा भत्किएको र ३७ वटा घर आंशिक क्षति भएको छ । पाँचवटा विद्यालयमा आंशिक क्षति पुगेको छ । एक सरकारी कार्यालयमा क्षति पुगेको बताएको छ । एकजना घाइते भएका छन् । जुनिचाँदे गाउँपालिकामा दुई सय ७० घर पूर्ण रुपमा भत्किएको र चार हजार ५६ घरमा आंशिक क्षति भएको छ । जाजरकोटमा एक हजार एक सय ७० घर पूर्णरुपमा क्षति भएको पाइएको छ । सात हजार एक सय ६६ वटा घर आंशिक रुपमा क्षति भएको पाइएको छ । २३ विद्यालयको पूर्ण क्षति र ७५ आंशिक क्षति भएको जानकारी आएको छ । एक सय एक जनाको मृत्यु भएको छ । एक सय ५२ घाइते भएको प्रहरीले जनाएको छ ।
भूकम्पमा परी घाइते भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका केही बिरामी निको भएर घर जान थालेका छन् ।जाजरकोटका तीन जना डिस्चार्ज भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पसर्न नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार उपचाररत एक जनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारको लागि शिक्षण अस्पताल काठमाडौं पठाउन थालिएको छ ।
निको भएर घर फर्केका बिरामी तथा कुरुवालाई यातायातको प्रबन्ध गरिएको जानकारी दिँदै श्रेष्ठले आपतकालीन कार्यसञ्चालन केन्द्रले उनीहरुलाई चामल २५ केजी, दाल पाँच केजी, तेल दुई लिटर, कम्बल सेट एक र त्रिपाल एक थान प्रदान गरेको बताए ।
अस्पतालमा अहिलेसम्म भूकम्पमा परी घाइते भएकाको संख्या ४९ पुगेको श्रेष्ठले बताए । उनका अनुसार अस्पतालमा पाँच वर्ष मुनिदेखि ६० वर्ष माथिसम्मका जाजरकोट, रुुकम पश्चिम र सल्यानका घायतेको उपचार भइरहेको छ ।
अस्पतालमा उपचार गराइरहेका अधिकांश बिरामीको हाडर्जोर्नीसम्बन्धी समस्या देखिएकाले उपचारका लागि विशेषज्ञ चिकित्सकलाई परिचालन गरिएको केन्द्रले जनाएको छ ।
अर्थोपेडिक सर्जन डा प्रकाश थापा, डा लक्ष्मण सिग्देललगायत चिकित्सकले घाइतेहरुको उपचार गरिरहेको फोकल पसर्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार अधिकाशं बिरामीको हाडर्जोर्नी भाँचिएको, चर्किएको तथा टुटेको छ । अहिलेसम्म भूकम्पमा परी घाइते भएका १० जनाको सफल शल्यक्रिया भएको छ ।
अस्पतालको सघन उपचार कक्ष तथा उपचार कक्ष बाहिर बिहान, दिउँसो र राति दुई–दुई जना स्वंयसेवक रहने गरी सहायता तथा सहजीकरण कक्ष सञ्चालन गरिएको फोकल पर्सन श्रेष्ठले बताए । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ ।गत शुक्रबार जाजरकोटको भूकम्पले जाजरकोट र रुकुम कापश्चिममा ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्याएको छ ।
भूकम्पबाट रुकुम पश्चिममा पनि ठूलै मानवीय क्षति भयो । हजारौँ घरहरु पूर्णरुपमा क्षति पुग्यो । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१३ भल्माका ४१ वर्षीय हरिबहादुर ओलीको घर पनि बस्नै नमिल्ने गरी भूकम्पले पूर्णरुपमा क्षति गर्यो । उनको घरमा क्षति गर्नुका साथै परिवारका चार सदस्य घाइते भएका छन् । घाइते हुनेमा हरिबहादुरसहित उनकी श्रीमती र दुई छोरा छन् ।
भूकम्पले भत्काएको घरमा आफूसहित पूरै परिवार पुरिएको हरिबहादुरले सुनाए । ‘मरिन्छ कि भन्ने लागेको थियो धन्न बाँचियो, स्थानीयवासीले रातिनै उद्धार नगरेको भए मेरो सबै परिवार सकिने थियो, स्थानीयवासीले तत्काल पुरिएको घरबाट निकाले अनि बाँच्न सफल भइयो’, उनले भने ।
उपचारका लागि चारै जनालाई नगर अस्पताल राडी पुर्याइएको थियो । अस्पतालमा दुई दिनसम्मको उपचार गरेपछि डिस्चार्ज भएको ओलीले बताए । घर फर्किएपछि सरकारले दिएको राहतको नाममा एउटा त्रिपालबाहेक अन्य कुनै सामग्री नपाएको उनले गुनासो गरे ।
‘राहतको नाममा त्रिपाल आयो, एउटा घरमै त्रिपाल थियो, अहिले राहतको आशमा त्रिपाल मुनी बसिरहेका छौँ, चिसो बढेकाले रात कटाउन निकै मुस्किल भइरहेको छ’, ओलीले भने, ‘अन्य कुनै राहत सामग्री अहिलेसम्म पाएका छैनौँ, राहतको पर्खाइमै छौँ, पालिकामा धेरै सामग्री आएको छ भन्ने सुन्छु, हामीले त त्रिपाल बाहेक केही आएका छैनौँ ।’ घर नजिकै पसल भएकाले उदारोमा चामल, दाल, तेल, नून लिएर खाइरहेको उनले बताए ।
राहत वितरण गरेको तीन दिन भइसक्यो केही अत्तोपत्तो छैन । अहिले पनि भूकम्पको त्रास गरेको छ । शुक्रबार एक्कासी भूकम्प आयो केही थाहा भएन’, ओलीले भने, ‘सुरुमा कसैले बम हानेको होकी जस्तो लाग्यो, पछि घर पुरिएर चेपिएपछि थाहा भयो, भूकम्प आएको रहेछ ।’
वडामै ९ जनाको मृत्यु भएको हुँदा आफ्नो घर पूर्णरूपमा क्षति भए पनि परिवार बाँच्न सफल भएकोमा खुसी लागेको उनले सुनाए । वडा नं १३ मा मात्रै चार सय तीस घर पूर्णरुपमा क्षति भएको वडा कार्यालयले जनाएको मा छ ।
एक सय १७ घर आंशिक क्षति भएको र ५५ घर सामान्य क्षति भएको वडा सचिव चक्रबहादुर डिसीले जानकारी दिए । उनले पूर्णरुपमा क्षति भएका घरपरिवारका लागि त्रिपाल मात्रै आएको र अन्य खाद्यान्न सामग्री आइनसकेको बताए ।
आंशिक क्षति भएकाले भने त्रिपालसमेत पाएका छैनन् । ‘पालिकाबाट राहत सामग्री आएपछि वितरण गर्ने छौँ’, डिसीले भने । उनका अनुसार मृतकका परिवारले रू २५ हजार किरिया खर्चसहित खाद्यान्न सामग्री पाइसकेका छन् ।
राहत वितरणको काम भइरहे पनि सबै ठाउँमा राहत वितरण गर्न नसकिएको नगरप्रमुख रवि केसीले स्वीकार गर्नुरे । भूकम्पमा परी रुकुम पश्चिमका ५२ जनाको मृत्यु भएको थियो भने भौतिक संरचना पनि ठूलो क्षति पुगेको
राज्य व्यवस्था समितिका सदस्यहरु भूकम्प प्रभावित क्षेत्रमा
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सदस्यहरु स्थलगत अध्ययन र अनुगमनका लागि जाजरकोट–भूकम्पबाट प्रभावित क्षेत्रतर्फ गएका छन् ।
गत शुक्रबारको भूकम्पपछि उद्धार तथा राहत वितरणको अवस्था बुझ्न र आवश्यक अनुगमन र निर्देशनका लागि उनीहरु बुधबार बिहान सुर्खेतबाट जाजरकोट गएका हुन् ।
समितिले भूकम्प प्रभावितका लागि उद्धार र राहत वितरण गर्न मुख्य मुकाम तोकिएको सुर्खेतमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहित उपलब्ध सरकारी अधिकारीसँग हालसम्मको खोज, उद्धार, स्वास्थ्य उपचार र राहतबारे जानकारी लिएको सभापति खतिवडाले जानकारी दिए ।
उनले भने “हामीले आज बिहान ८ बजेसम्मको सम्पूर्ण जानकारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सुर्खेतस्थित कर्णाली सरकारका प्रमुख तथा प्रतिनिधि र सुरक्षा र प्रशासनका प्रमुखहरुसँग लिएका थियौँ । अब त्यसबमोजिम नागरिकको उद्धार र राहत वितरणको अवस्थाको अध्ययनका लागि हामी केही क्षणमा जाजरकोट पुग्दैछौँ ।”
सभापति खतिवडाले राहात वितरण एवं आवश्यक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी हालतमा राखिएको, सबै घाइतेको उपचार भइरहेको, हाल एकजना घाइतेमात्र आइसियुमा रहेका र अहिले अस्पतालमा ९९ जना घाइते उपचाररत रहेका सुर्खेतमा ‘ब्रिफिङ’का क्रममा दिइएको जानकारी दिए । उनका अनुसार सर्खेतमा ब्रिफिङका क्रममा अहिलेसम्म करिब दुई अर्ब ४५ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिइएको थियो ।
त्यस्तै सो भूकम्पबाट ११ हजारभन्दा बढी घरमा आंशिक र १६ हजारभन्दा बढीमा पूर्ण रुपमा क्षति पुगेको भन्दै आफूहरुले ती आंशिक क्षति पुगेका घर पनि सबैजसो ढुंगामाटोको रहेकाले काम नलाग्ने अर्थात् पूर्ण क्षतिको सूचीमा राखेर राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको पनि सभापति खतिवडाले जानकारी दिए ।
अहिलेसम्म करिब ८० प्रतिशत पीडितलाई राहत उपलब्ध गराइएको, उद्धारको काम सकिएकाले अब राहत वितरणका काममा केन्द्रित भएको, आवश्यकताअनुसार कम्तीमा २० जना अट्ने त्रिपाल ठाउँठाउँमा राखेर पीडितलाई सहयोग उपलब्ध गराइएको, चीनले पठाएका राहत सामग्रीहरु पोखराबाट जाजरकोटतर्फ आउँदै गरेका जानकारी गराइएको पनि सभापति खतिवडाले जानकारी दिए ।
जाजरकोट र रुकुम पश्चिमका राहत नपाएका बाँकी सबै प्रभावित पालिकामा आजै राहत सामग्री पुग्ने जानकारी आफूहरुले पाएको उनले बताए । आवश्यक राहत पुर्याउने प्रयोजनका लागि सुर्खेतमा नेपाली सेनाका तीनओटा हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी गराइएको पनि सभापति खतिवडाले बताए ।
उनले भने, “यहाँको अवस्था हेर्दा मान्छे आउने, तस्बिर खिच्ने तथा भीडभाड मात्र गर्ने गरेको पाइएकाले यस्ता कार्य हटाई सबैलाई मानवीय सेवामा लगाउन तथा राहात तथा उद्धारका काममा लागेका सुरक्षाकर्मी तथा उद्धारकर्तालाई अवरोध नगरी सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने देखिएको छ ।”
आफ्नो निजी खर्चमा समितिका सभापति खतिवडा, सदस्यहरु एवं नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू, नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङलगायत सांसद्हरु काठमाडौँबाट सुर्खेत हुँदै बुधबार जाजरकोट गएका हुन् ।