Ultimate magazine theme for WordPress.

नेपाल र भारतबीचको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा

200

साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल अन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा दुवै टोलीले गोलको अवसर सिर्जना गरेका छन् ।

वर्षाका कारण खेलाडीलाई बल नियन्त्रणमा कठिनाई हुँदा भारतले तुलानात्मक रुपमा बढी आक्रमण गरेको छ । नेपालले पनि केहि अवसर सिर्जना गरेपनि सदुपयोग भने हुन सकेको छैन ।खेलको चौथो मिनेटमा नै कप्तान किरण चेम्जोङले दोहोरो बचाउ गर्दै खेल गोलरहित राखे ।

यासिर मोहमदको पेनाल्टी क्षेत्र बाहिरको प्रहारलाई पहिलो पटकमा विफल पारेका किरणले रिबाउन्डमा अनिरुद्ध थापाको वन भर्सेस वनको प्रहारलाई उत्कृष्ट ढंगले बचाए । त्यसपछि लगत्तै अर्कोतर्फ नेपालको काउन्टरमा नवयुग श्रेष्ठको अन्तिम प्रहार आकासियो ।

१४ औं मिनेटमा भारतको लगातार आक्रमणलाई नेपाली डिफेन्सले गोल हुन दिएन । लगातारको तीन प्रहार डिफेन्सले छेकेपछि अन्तिम प्रहार भने गोलरक्षक किरणको हातमा टुंगिएको थियो । १७ औं मिनेटमा रोहित चन्दले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर चिप्लेपछि सुवर्ण अवसर पाएपनि दुर्भाग्यवश उनी पनि चिप्लिन पुग्दा अन्तिम प्रहार गर्न सकेनन् ।

२७ औं मिनेटमा सुनिल क्षेत्रीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहारलाई किरणले बचाए । ४३ औं मिनेटमा लालेङमावियाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । ४४ औं मिनेटमा यासिरको क्रसमा सुनिलको भली प्रहार पोस्टभन्दा माथिबाट जाँदा खेल बराबरीमा रहेको थियो ।

आजको खेलमा गोलरक्षकमा कप्तान किरण चेम्जोङ, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेलेका छन् । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् ।