
कर्णाली– जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई दुई छोरीको निधनले आहत बनाएको छ। कात्तिक १७ गते रातिको भूकम्पले सिंह दम्पतीका दुई छोरी उपसना र ऊर्जाको ज्यान गयो।
घटना भएको एक साता बित्न लागेको छ। २१ वर्षीया उपासना र १८ वर्षीया ऊर्जाको निधनले सिंह दम्पतीका आँखा ओभाएका छैनन्। पछिल्लो समय बाँकेको नेपालगन्ज–१ मा बस्दै आएका सिंह दम्पती दुई छोरीसहित दशैँ मनाउन असोज २८ गते मात्र बारेकोट गाउँपालिकास्थित जिरीगाउँ उक्लिएका थिए। दशैँ मनाएर कात्तिक १० गते जाजरकोट सदरमुकाम फर्केका थिए।
बाबुआमा मावली सदरमुकाम खलंगास्थित घरमा बस्दा उपासना र ऊर्जा शुक्रबार सानीआमाको घरमा बास बस्न गएका थिए। उनीहरूसँगै सानीआमाकी २५ वर्षीया छोरी मेरिना आरसीको पनि भूकम्पमा परेर ज्यान गयो। सिंह दम्पतीकी जेठी छोरी उपसना ललितपुरको सानेपास्थित एभरेस्ट इन्जिनियरिङ कलेजमा स्नातक तहको पाँचौँ सेमेस्टरमा अध्ययनरत थिइन्। उनको सपना थियो उच्च शिक्षा विदेशमा गएर लिने र पुनः नेपाल फर्केर सूचना तथा प्रविधिको पहुँचबाट वञ्चित रहेको दुर्गम कर्णालीका बस्तीमा काम गर्ने। भूकम्पले उनको सपना चकनाचुर बनायो।
सिंह दम्पतीकी कान्छी छोरी ऊर्जाले नेपालगन्जस्थित स्टी थोमस माविबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी थिइन्। उनी चिकित्सा शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जाने तयारीमा थिइन्। उनको सपना थियो चिकित्सक बनेर समाजसेवा गर्ने। डिसेम्बरको अन्तिम साता अस्ट्रेलिया उड्ने ऊर्जाको सपना पनि भूकम्पले खरानी बनायो।
ऊर्जाले यसअघि चिकित्सक बन्न निजी मेडिकल कलेजमा नाम निकाले पनि बाबुआमालाई आर्थिक भारमा पार्न खोजिनन्। महँगो डाक्टरी शुल्क तिरेर बाबुआमाले आफूलाई पढाउन सक्ने अवस्था छैन भन्ने कुरा ऊर्जाले राम्रोसँग बुझेकी थिइन्। घरायसी अवस्थालाई राम्रोसँग बुझेकी उनले आफ्नै बलबुतामा अस्ट्रेलियाको चिकित्सा क्षेत्रको उच्च शिक्षा हासिल गर्ने लक्ष्य राखेकी थिइन्।
सिंह दम्पती आइटी इन्जिनियर बन्ने उपासना र डाक्टर बन्ने ऊर्जाको इच्छा पूरा गर्न जस्तोसुकै जोखिम मोल्न चाहन्थे। त्यसका लागि उनीहरूको उच्च शिक्षा र त्यसमा लाग्ने आर्थिक जोहो गरिरहेका उनीहरू तिहारलगत्तै ऊर्जालाई बाहिर पठाउने ध्याउन्नमा थिए। “सबैथोक भूकम्पसँगै बिलायो, कल्पना नगरेको बज्रपात खेप्नुपरिरहेको छ,” शोभाले भनिन्। शोकमा डुबेको परिवारलाई समवेदना प्रकट गर्न आउने र दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्ने आफन्त शुभेच्छुकलाई घरको ढोका अगाडि राखिएका उपासना र ऊर्जाको तस्वीरले धरधरी रुवाउँछ। गोरख भन्छन्, “घरको कुनाबाट छोरीहरूले बाबा भनेको आवाज मेरो कानमा गुन्जिरहन्छ।”
कठिन दुःख गरेर उच्च शिक्षा पढाउने र छोरीहरू राष्ट्रको अब्बल जनशक्ति बनेर सेवा गरेको खुशी देख्ने चाहना थियो सिंह दम्पतीको। भूकम्पले उनीहरूको आशा र खुशी सदाका लागि खोसेको छ। उपासनाको राति एक्लै पढ्ने बानी थियो। उनी थोरै पढेर धेरै बुझ्ने तेज दिमागकी थिइन्। ऊर्जा अत्यन्तै मेहनती र इमानदार थिइन्। बाबुआमाको आर्थिक तथा घरायसी समस्यालाई नजिकबाट बुझ्ने समझदार बानीका कारण एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेकी उनले आफ्नो पढाइलाई एक वर्षपछि धकेलेकी थिइन्।
“काख रित्तिएको छ। घरमा उपासना गर्ने ऊर्जा समाप्त भएको छ। राति निद्राबाट ब्युँझँदा अगाडि छोरी उभिएको देख्छु तर स्पर्श गर्न पाउँदिन। अनि डाँको छाडेर रुनेबाहेक अरू केही उपाय भेट्दिन,” शोभा भन्छन्, “यस्तो पीडा कसैले भोग्नु नपरोस्।”
यता पोखरा विश्वविद्यालयबाट छात्रवृत्तिमा परी मेरिनाले कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगन्जबाट सिभिल इन्जिनियर पूरा गरेकी थिइन्। देशको अब्बल इन्जिनियर बन्ने उनको सपना ध्वस्त मात्र भएन, बाबुआमाको आशाको दियो पनि निभ्यो।
भूकम्पका कारण आफन्त गुमाएका सयौँ परिवारको पीडा बुझेर सिंह र आरसी दम्पतीले चित्त बुझाएका छन्। भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ। २५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।