
काठमाडौँ – मुगुको छाँयानाथ रारा नगरपालिकामा भएको सामूहिक हत्या नातेदार बाट नै भएको भेटिएको छ । घटनाको दुई सातापछि प्रहरीले मुगुमा एकै परिवारका चार सदस्यको हत्या गर्ने दुई जनालाई पक्राउ गरेको हो छ।
धनमाल लुटपाटको उद्देश्यले दुईजना मिलेर परिवारकै हत्या भएको प्रहरीले जनाएको छ । मुगुको पिना गाउँपालिका–७ का गोर्खबहादुर शाही ठकुरी र गोपाल बोहरालाई प्रहरीले पक्राउ गरेको हो । दुवैले अभियोग स्वीकार गरेको बताइएको छ।
छायाँनाथ रारा गाउँपालिका–६ मुन्दुगाउँ निवासी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, सात वर्षकी छोरी अप्सरा तथा एक वर्षका छोरा रहरको हत्या भएको थियो । १० कात्तिकमा उनीहरूको शव प्रहरीले फेला पारेको थियो ।
८ कात्तिकमा हत्या भएको प्रहरीले जनाएको छ । हत्यापछि शाही र बोहोराले गहना तथा नगद लुटेका थिए । ‘श्रीदेवीसँग धेरै सुन लगाउने उनीहरूले देखेका रहेछन्,’ अनुसन्धानमा आबद्ध एक प्रहरीले भने, ‘सोही आधारमा उनीहरूले लुट्ने योजना बनाएको देखिन्छ ।’ श्रीदेवीका श्रीमान् भने विदेशमा थिए । गोर्ख श्रीदेवीका नाता पर्दछन् ।
गत जेठ महिनामै शाही र बोहोराले श्रीदेवीको सुन लुटपाट गर्ने योजना बनाएका थिए । कोहलपुर बस्दै आएका शाहीले गाउँमै गएर सो योजना बनाएका थिए । योजनाअनुसार शाही ५ कात्तिकमा सुर्खेतबाट पिना गएर गोपालको गोठघरमा बसेका थिए । गाउँलेलाई थाहा नहोस् भनेर उनी गोठमा लुकेर बसेका थिए ।
योजनाअनुसार नै उनीहरूले ८ कात्तिकमा हत्या गरेका हुन् । हत्यापछि उनीहरूले साढे दुई तोलाको सुनको रिङ, २५ ग्रामको तिलहरी, चेक, लालपुर्जा र करिब ५–६ हजार नगद लुटेका थिए । त्यही दिन श्रीदेवी माइतीबाट फर्किएकी थिइन् । हत्यापछि उनीहरू सुर्खेत भागेर बसेका थिए ।।