
जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ६ घोराखोरीमा एक बृद्ध महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा चम्पादेवी गाउँपालिका वडा नं. ४ फेदिगुठ, पुरानागाउँ स्थायी घर भई चम्पादेवी गाउँपालिका वडा नं. ६ घोराखोरी, डाँडागाउँमा छोरीको घरमा बस्दै आएकी ८८ बर्षिया नन्दमाया बुढाथोकी रहेकी छन् ।
मृतक बुढाथोकी छोरीको घरमा नै बस्दै आएकी थिईन् । उनी गत २० गते छोरीको घरबाट घोराखोरी कै चप्लेटी भन्ने स्थानमा रहेका भदा भाइको घरमा जान्छु भनेर हिडेकी थिईन् । तर भदा भाइको घरमा नपुगेपछि उनको खोजी भैरहेको थियो । खोजीका क्रममा आज (शुक्रबार) विहान ७ बजे घोराखोरीबाट डाँडागाँउ भन्ने स्थानतर्फ जाने भित्री कच्ची सडकको कुईके पाखामा शबलाई कुकुरले खादै गरेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।
बृद्धाको शबलाई शुक्रबार विहान ४÷५ वटा कुकुरहरुले खादै र खेलाउदै गरेको अबस्थामा स्थानीयले देखेपछि स्थानीयले नै प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक सिंहले बताए । प्रहरीलाई जानकारी हुनासाथ घटनास्थलमा चुप्लु घोराखोरीबाट प्रहरीको टोली पुगेको छ । घटनाको बारेमा अनुसन्धान गर्न र कानुनी प्रकृयाका लागि ईलाका प्रहरी कार्यालय रामपुर बरुणेश्वरवाट पनि प्रहरीको टोली घटनास्थल तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।