शनिबार १६ मंसिर २०८०

मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तबाटै भएको खुलेको छ। हत्या भएको १२ दिनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले घटनामा संलग्न आरोपमा २ जनालाई पक्राउ गरेको हो।

हत्या आरोपमा मुगु पिना गाउँपालिका ७ घर भई हाल बाँके कोहलपुरको चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही ठकुरी र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपाल बोहरा पक्राउ परेका हुन्।

हत्यापछि भागेका गोर्खराजलाई सीआईबीको टोलीले यही कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ पञ्चकोशीटोलबाट पक्राउ गरेको हो। उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको प्रहरीको दाबी छ। गोपाललाई गोर्खराज पक्राउ परेको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी वडा नं २ बाट प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई आजै दिउँसो सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।

यही कात्तिक ८ गते राति मुन्दुका श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा बोहोरा र ८ महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको थियो।

हत्या आरोपित गोर्खराज श्रीदेवीका काका र गोपाल देवर नाता पर्छन्। श्रीदेवी गोर्खराजको दिदी-सासूकी छोरी हुन्। गोपाल गाउँकै देवर नाता पर्छन्।

दसैँमा माइत गएकी श्रीदेवी फर्किएकै दिन कात्तिक ८ गते राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो। लुटपाट गर्ने पूर्वयोजना अनुसार गोर्खराज केही दिन पहिले नै गोपालको घरमा पुगेको पाइएको प्रहरीको भनाइ छ।

उनीहरूले सुरुमा लुटपाटको योजना बनाएको र पछि परिवार नै सखाप पारेको प्रारम्भिक सोधपुछबाट खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले बताए। २०८० जेठमा बाँकेको कोहलपुरबाट गार्खराज शाही ठकुरी मन्दु पुगेर गोपाल बोहोरालाई भेटेका थिए।

त्यही भेटमा उनीहरूले श्रीदेवीसँग ७/८ तोला सुन र नगद भएकाले त्यो लुटपाट गर्ने योजना बनाएको अनुसन्धानमा संलग्न प्रहरीले बताए। सोही योजनाअनुसार कात्तिक ५ गते गोर्खराज सुर्खेतबाट मुगु पिना गई गोपालबहादुरको घरमा बसे। ६ गते पुगेका उनी लुकिछिपी सोही गाउँमा बसेका थिए।

कात्तिक ८ गते श्रीदेवी बोहोरा दुई छोरा र एक छोरीसहित माइतीघरबाट फर्किन्। त्यही बेलुकी गोर्खराज र गोपालले मिलेर उनीहरूको हत्या गरेको खुलेको प्रहरीको दाबी छ। हत्यापछि उनीहरूले मृतकले कानमा लगाएका साढे दुई तोलाका सुनका रिङ, २५ ग्रामको तिलहरी, मृतकका श्रीमान् दीपक र श्रीदेवीको नाममा रहेका एनआईसी बैंकका २ थान चेक, श्रीदेवीको नामको जग्गाको लालपुर्जा, श्रीदेवीको मोबाइल र ५/६ हजार रुपैयाँ लुटेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार घटनापछि उनीहरू शव घरभित्रै छाडेर बाहिरबाट ढोका लगाइदिएर हिँडेका थिए। गोपला बोहोरा त्यसपछि पनि गाउँमै बसेको र गोर्खराज भने सुर्खेततर्फ फरार भएका थिए।

प्रहरीका अनुसार लुटपाट गरेका सुन गोर्खराजले नेपालगन्जमा बेचेको खुलेको छ। गोर्खराजको साथबाट सीआईबीको टोलीले एक लाख ७९ हजार रुपैयाँ बरामद गरेको छ। थप अनुसन्धानका लागि सीआईबीको टोलीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको जिम्मा लगाएको छ।

घटना अनुसन्धानका लागि सुरुमा जिल्ला प्रहरी कार्यालय मुगु र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट टोली खटिएको थियो। तर अनुसन्धान निचोडमा पुग्न नसकेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट डीएसपी धर्म भण्डारीको कमान्डमा टोली खटाइएको थियो। अनुसन्धानका क्रममा सीआईबीको टोली सुर्खेत, बाँके र मुगु पुगेको थियो।


Last Updated on: November 10th, 2023 at 8:22 pm

९२१७ पटक हेरिएको

तपाईको प्रतिक्रिया