Ultimate magazine theme for WordPress.

प्रशिक्षक अलमुताइरीको आग्रह, खेलाडीको स्वागतका लागि विमानस्थल आइदिनुहोला

66

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली भोलि (सोमबार) नेपाल आइपुग्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टोली सोमबार बिहान नेपाल आइपुग्ने जनाएको छ । एन्फाका अनुसार नेपाली टोली सोमबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।राष्ट्रिय फुटबल टोलीले आइतबार माल्दिभ्स छाड्नेछ ।

हवाईमार्गबाट कतारको दोहाहुँदै टोली सोमबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले समर्थकहरुलाई टोलीलाई निरन्तर साथ दिन आग्रह गर्दै स्वागतमा विमानस्थलमा उपस्थित हुन आग्रह गरेका छन् ।

‘सबै नेपाली समर्थकका लागि मेरो विशेष आग्रह छ । जब राष्ट्रिय टोली नेपाल फर्कन्छ । सबैजना विमानस्थल पुगेर सम्मान गरिदिनु होला,’ फाइनलपछि उनले भनेका थिए,‘यही स्तरमा निरन्तर खेलिरहने हो भने खेलाडीलाई साथ र समर्थन गर्नुपर्छ ।’माल्दिभ्सको राजधानी मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो ।

साफ च्याम्पियनसिपको २८ वर्षको इतिहासमा नेपाली टोलीले पहिलो पटक फाइनल खेलेको हो । नेपालले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।एक महिना लामो समयपछि नेपाली टोली स्वदेश फर्कन लागेको हो । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो ।

कतारमा तयारी गरेपछि साफ च्याम्पियनसिपका लागि असोज ११ गते माल्दिभ्स पुगेको थियो । कतारमा नेपालले दुई वटा मैत्रीपूर्ण खेलसमेत खेलेको थियो ।कतार जानुअघि नेपाली टोलीले चैत १७ र २० गते दशरथ रंगशालामा भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो ।

पहिलो खेलमा १–१ को बराबरी गरेको नेपाल दोस्रो खेलमा भारतसँग २–१ गोलले पराजित भएको थियो ।नेपालले साफ च्याम्पियनसिपमा उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० गोलले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलले हराएको थियो ।

तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपाली टोलीले राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै पहिलो पटक फाइनल यात्रा तय गरेको थियो। कमजोर सुरुवात गरेको भारतले आठ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । नेपाल सात अंकका साथ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको थियो ।