
मुगुको छायाँनाथ रारा नगरपालिका- ६ मन्दु गाउँमा ४ जनाको सामूहिक हत्याका आरोपितले श्रीमानसँगको रिसइबी साँध्न श्रीमती र तीन छोराछोरीको हत्या गरेको बयान दिएका छन् ।
प्रहरीले हत्या आरोपमा मुगुकै पिना गाउँपालिका- ७ घर भएका ३० वर्षीय काले भनिने गोर्खबहादुर शाही ठकुरी र सोही पालिकाको वडा नम्बर ८ घर भएका ३१ वर्षीय गोपाल बोहोरालाई पक्राउ गरेको थियो । मुगु प्रहरीले उनीहरुलाई शुक्रबार सार्वजनिकसमेत गरेको छ ।
उनीहरुले कार्तिक ८ गते साँझ छायाँनाथ रारा नगरपालिका- ६ मन्दुका दीपक बोहराकी श्रीदेवी, ११ वर्षीय छोरा मनोज, वर्ष ७ की छोरी अप्सरा र ५ महिनाका छोरा रहरको हत्या गरेका थिए ।
मुगु प्रहरीका अनुसार हत्या आरोपमा पक्राउ परेका गोपाल पनि बैदेशिक रोजगारीको लागि कतार गएका थिए । राम्रो काम नपाएर २ वर्षपछि उनी नेपाल फर्किएका थिए ।दीपक मासिक करिब एक लाख कमाएका थिए। सोही पैसाबाट श्रीमतीलाई गहना किनिदिएका थिए। जग्गा पनि जोडेका थिए। यसरी सम्पत्ति कमाएको रिसिइवीसमेत हत्याको कारण भएको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी बताउँछन्। साथै गोपालको परिवारले ६० हजार सापटी लिएकोमा श्रीदेवीलाई २० हजार मात्र फिर्ता गरेकोसमेत अनुसन्धानमा खुलेको छ।
दीपकले कतारमा ‘राम्रो कमाइ’ गरेकाले उक्त कम्पनीमा काम गर्ने गरी आफूलाई समेत भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए । तर, दीपकले स्वीकारेनन् । त्यसपछि गोपालले रिसइवी साँध्न दीपकको परिवारको हत्या गर्ने योजना बनाएको खुलेको बयान प्रहरीलाई दिएका छन् ।
गोर्खबहादुरले घटनास्थलबाट बरामद गलबन्दी आफ्नो भएको प्रहरीसमक्ष बयानसमेत दिएका छन् ।
गोपालले गत जेठमा छायाँनाथ रारा नगरपालिका- ७ पिना घर भई हाल बाँकेको बैजनाथ गाउँपालिका- १ चिसापानी बस्ने ३० वर्षीय गोर्खबहादुर शाहीलाई भेटेर दीपकको परिवारको हत्या गर्ने र श्रीदेवीसँग भएको १०–१२ तोला सुन र नगद लुटपाट गर्ने योजना बनाएको मुगु प्रहरीले बताएको छ ।
हत्या योजनाअनुसार गोर्खबहादुर कार्तिक ५ गते सुर्खेतबाट मुगु हिँडेका थिए । त्यसको भोलिपल्ट वडा नम्बर ६ मन्दुमा गएर गोपालसँग भेटेर गोर्खबहादुर मृतक श्रीदेवीको घरको भुईंतलाको खरायोको खोर भएको कोठामा कोही कसैले नदेख्ने गरी लुकिछिपी बसेका थिए । कार्तिक ७ गते दिनभर मन्दुस्थित एक सामुदायिक विद्यालय नजिक खोलामा लुकिछिपी बसको उनी साँझ गोपालको पुरानो गोठघरमा गएर बसेका थिए । जहाँ उनलाई गोपालले घरबाट खाना ल्याइदिएका थिए ।
कार्तिक ८ गते साँझ श्रीदेवी छोराछोरीसहित माइतीबाट घर फर्केर खाना खाएर बसेका थिए । राति ९ बजे गोपाल र गोर्खबहादुरले श्रीदेवीलाई बाहिरबाट बोलाइ ढोका खोल्न लगाएर घरभित्र गएका थिए । सोही बेला दुबै जना मिलेर धारिलो हतियार खुकुरीले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेको र श्रीदेवीको मोबाइल र उनले कानमा लगाएको अन्दाजी २.५ तोला सुनको रिङ र घाँटीमा लगाएको २५ लाल सुनको तिलहरी लुटेर लगेका थिए ।
घटनापश्चात गोर्खबहादुर मुगु र जुम्लाको सिमाना भुलभुलेसम्म पैदल गएर कार्तिक ९ गते सुर्खेत पुगेको प्रहरीले जनाएको छ । उनले श्रीदेवीले प्रयोग गर्ने मोबाइलमा आफ्नो सिम हालेर चलाएका थिए ।
प्रहरीले कार्तिक २३ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- १८ कारकाँदोस्थित गजेन्द्रविक्रम शाहीको घरमा गोर्खबहादुरले लुकाइछिपाइ राखेको १ लाख ७९ हजार रुपैयाँ, गोर्खबहादुर शाहीको नामको नेपाली राहादानी, उनकै नामका बस टिकट २ थानलगायत बरामद गरेको थियो । उक्त रकम मृतकबाट लुटिएको सुन बिक्री गरी आर्जन गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले गोर्खबहादुरलाई कार्तिक २० गते वीरेन्द्रनगर नगरपालिका- ५ पञ्चकोशी टोलस्थित जसकला बमको घरबाट पक्राउ गरेको थियो । उनलाई मुगु जिल्ला अदालतमा हाजिर गराइ ११ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीले म्याद थपसमेत गरेको छ । गोर्खबहादुरको बयान र मुगु जिल्ला अदालतको पक्राउ अनुमति आदेशलगत्तै शुक्रबार गोपाल बोहरालाई उनकै घरबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।