मंगलबार १८ आश्विन २०७९

काठमाडौं । प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइदिने भन्दै पीडकसँग तीन लाख रुपैयाँ माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नं. ४ कानुथुम घर भई कीर्तिपुर नगरपालिका वडा नं. ८ पाँगा बस्ने ५६ वर्षीय अरुण गुरुङ र गोरखाको भिमेश्वर गाउँपालिका वडा नं. ९ भोर्लाङ घर भई चन्द्रागिरि नगरपालिका वडा नं. ७ पुरानो नैकाप बस्ने ३७ वर्षीय महेश भट्ट छन् ।

उनीहरुले सुरेश महर्जनसँग एक लाख रुपैयाँ लिइसकेको खुलेको छ । तर, रकम लिए पनि सवारी ज्यानसम्बन्धी मुद्दाबाट छुटकारा नपाएपछि महर्जनले कीर्तिपुर वृत्तमा जाहेरी दिएका थिए । प्रहरीले महर्जनको जाहेरीको आधारमा दुवै जनालाई कीर्तिपुर नगरपालिका वडा नं. ३ खसी बजारबाट आइतबार नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

प्रहरीले गुरुङको साथबाट ७५ हजार र भट्टको साथबाट २५ हजार रुपैयाँ बरामद गरेको जनाएको छ । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२१ को ठगी विरुद्धको कसुरमा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गराई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंले प्रहरीद्वारा अनुसन्धान गरिरहेको मुद्दालाई मिलाइदिने, थुनामुक्त गराइदिने जस्ता प्रलोभन तथा झुक्यानमा नपर्न सर्वसाधारणमा अपिल पनि गरेको छ ।

प्रहरी संगठनको नाममा ठगी गर्ने, रकम उठाउने गरेको पाइएमा प्रचलित ऐन कानुन बमोजिम कारबाही गर्ने समेत प्रहरीले जनाएको छ ।


Last Updated on: August 24th, 2022 at 9:56 am

तपाईको प्रतिक्रिया