
जापान ।
जापानमा सुगर ड्याडीहरूबाट पैसा कसरी धुत्ने भन्ने विषयमा पुस्तक लेख्ने एक जापानी युवती प्रहरीको फन्दामा परेकी छिन् । माई वातानाबे नाम गरेकी ति युवती स्वघोषित डेटिङ स्क्यामर भएको बताइन्छ ।
२५ वर्षीय वातानाबेलाई अगष्टमा सामाजिक सञ्जालमा फलोअरहरूलाई ‘डेटिङ स्क्याम म्यानुअल’ बेचेको आरोपमा प्रहरीले समातेको हो । अधबैँसे र बुढा पुरुषलाई कसरी फसाउने, उनीहरूबाट कसरी सकेसम्म धेरै पैसा धुत्ने भन्नेबारे वातानाबेले गाइडबूक नै निकालेकी छिन् ।
अधवैंशे तथा वृद्ध धनी पुरुषले आफूभन्दा साना उमेरका युवतीहरुलाई पैसा दिएर बनाउने सम्बन्ध नै सुगर रिलेशनशिप भनिन्छ । पाका उमेरका पुरुषसँग सम्बन्ध राखे बापत युवतीले मोटो रकम र सुख शयल पाउँछन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर बेबी र पुरुषलाई सुगर ड्याडी भनिन्छ । पछिल्लो समय विश्वभर यसको चलन बढेको छ ।
नागोया सहरको नाका प्रहरी चौकिका अनुसार वातानाबेले गएको वर्ष १० हजार येनदेखि २० हजार येनको बीचमा म्यानुअल बेच्न सुरु गरेकी थिइन् । गोप्य रुपमा अधबैँसे र बुढा पुरुषबाट कसरी धेरै प्रसा धुत्ने भन्ने सिकाउन उनले थप पैसा लिन्थिन् । पक्राउ पर्नुअघि वातानाबेले आफ्नो पुस्तकको करिव २ हजारप्रति बेचेको जापानी सञ्चार माध्यमरुले बताएका छन् ।
वातानाबेकै किताब पढेर एक २० वर्षीय जापानी युवतीले आइची प्रिफेक्चरका २ पुरुषबाट १ करोड ६ लाख ५० हजार येन ठेगेपछि प्रहरीले वातानाबेबारे छानबिन सुरु गरेको थियो ।
आफूमाथि लागेको अभियोग वातानाबेले स्वीकार गरेकी छिन् । युवतीले गएको वर्ष सेप्टेम्बरमा ५० वर्षका एक पुरुषलाई २ करोड ७० लाख येन ठगेकी थिइन् ।
५४ वर्षका अर्का एक पुरुषले पनि वातानाबेको खातामा ११ करोड ७० लाख येन हालिदिएको आरोप लगाएको जापानी पत्रिका माइनिची सिम्बुनले समाचार छापेको छ ।