
काठमाडौं ।
नेपाली इथिकल ह्याकरहरु ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगितामा तेस्रो भएका छन् ।
सेमिफाइनलमा स्पेनसँग पराजित नेपालले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्सलाई हराएको हो । योसँगै नेपाली टिमले कूल एक लाख ६० हजार डलर अर्थात् (करिब दुई करोड १२ लाख रुपैयाँ) बढी पुरस्कार जितेको छ ।
यसअघि क्वार्टरफाइनलमा संयुक्त राज्य अमेरिकालाई हराएर नेपाली टिम सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा नेपाललाई हराएर फाइनल पुगेको प्रतियोगिताको स्पेन पहिलो र फ्रान्सलाई हराएर फाइनल पुगेको इजरायल दोस्रो भए । नेपाली ह्याकरको टिममा आनन्द ढकाल, विवेक उप्रेती, सन्दीप ओली, विवेक न्यौपाने, प्रशान्त भट्टराई, आकाश हमाल, विवेक ढकालसहित २६ जना थिए । फाइनलका लागि अर्जेन्टिना जाने सूचिमा भने १० ह्याकर थिए ।
सेमिफाइनल चरणका खेल सेप्टेम्बर २६ देखि अक्टोबर १० सम्म भर्चुअल रूपमै भएको थियो । फाइनल भने अक्टोबर १९ देखि नोभेम्बर ३ मा अर्जेन्टिनामा भएको हो । फाइनलका लागि नेपाली टिमलाई अर्जेन्टिना बोलाइए पनि भिसा समस्याका कारण जान पाएको थिएन ।
नेपालसँग अर्जेन्टिनाको कुटनीतिक सम्बन्ध नभएकाले भौतिक रूपमा टिम नेपाल सहभागी हुन नसकेको टिमका लिडर आनन्द ढकालले बताए ।
“भिसाको लागि हामीसँग पर्याप्त समय थिएन,” ढकालले भने, “अर्जेन्टिनासँग नेपालको कुटनीतिक सम्बन्ध नभएकाले नेपाल सरकारले केही गर्नसक्ने अवस्था थिएन । त्यसैले हामी भिसा लगाउन भारत गएका थियौं ।”
उनले अगाडि भने, “१९ अक्टोबरदेखि सुरु हुने फाइनलका लागि नेपाली टिमले अक्टोबर १० देखि १९ भित्र भिसाको सबै प्रक्रिया पूरा गरिसक्नुपर्ने थियो । भारतबाट अर्जेन्टिनाको भिसा पाउन अर्जेन्टिनाको कम्पनीले इन्भिटेसन लेटर पठाउनुपर्ने थियो । तर, ह्याकरवन अमेरिकी कम्पनी भएकाले सो कम्पनीले इन्भिटेसन लेटर पठाउन मिलेन ।
भारतस्थित अर्जेन्टिनी दूतावासमार्फत भिसा प्रक्रिया थाल्दा ढिला हुने भएपछि नेपाली टिम भारतमै बसेर भर्चुअल रूपमा प्रतियोगिता सहभागी भएको थियो । सो प्रतियोगिताको नतिजा शुक्रवार बिहान आएको हो । यो प्रतियोगितामा कुन टिमले कति पुरस्कार पायो भन्ने खुलाइएको हुँदैन ।
ह्याकरवन एम्बास्डर वर्ल्डकप यस्तो प्रतियोगिता हो, जहाँ विश्वभरका ह्याकरहरूको टिम एक-अर्कासँग प्रतिस्पर्धा गर्छन् । यसमा सहभागी ह्याकरको टोलीलाई कुनै पनि सिस्टममा भएका कमजोरी पत्ता लगाउन भनिन्छ । तोकिएको समयमा जसले बढी कमजोरी (बग) फेला पार्छ, सोही टिमको अङ्क बढ्दै जान्छ । अन्तिममा जुन टिमले बढी पोइन्ट पाउँछ, त्यो टिम नै विजेता घोषित हुन्छ ।
मार्च १३ देखि सुरु भएको यो प्रतिस्पर्धाको समूह चरणमा भारत र पाकिस्तानलाई हराउँदै टिम नेपाल शीर्ष १६ मा पुगेको थियो । मे २ देखि १६ सम्म साउदी अरेबिया र नेपालबीच स्वीट सिक्स्टिनका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा साउदीलाई पछि पार्दै टिम नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।