शनिबार १६ मंसिर २०८०

मुगुमा एकै परिवारको चार जनाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय मनोज, ७ वर्षीया अप्सरा र ५ महिने रहरको हत्या आरोपमा पक्राउ परेका नातेदार दुई नातेदारलाई प्रहरीले सार्वजनिक गरेको हो । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाका ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र मुन्दुका ३१ वर्षीय गोपालबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। गोपाल श्रीदेवीका मामाका छोरा हुन्।

श्रीदेवीका श्रीमान् दीपक रोजगारका लागि कतारमा थिए। गोपाल पनि कतारमा दुई वर्ष बसेर राम्रो कमाइ नभएको भन्दै फर्किएका थिए। दीपक भने गत मंसिरमा कतार गएका थिए।

गोपालले दीपकलाई भिसा पठाइदिन आग्रह गरेका थिए। दीपकले उक्त कुरा अस्वीकार गरेपछि गोपाल रिसाएको अनुसन्धानबाट देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी भीमप्रसाद ढकालले बताए। त्यही रिसिइबीका कारण परिवारकै हत्या गर्ने योजना बनाएको प्रहरीको निष्कर्ष छ। साथै उनीहरूले उक्त घरमा लुटपाट गर्ने योजना पनि बनाएका थिए।

राम्रो कमाइ गरिरहेका दीपकको घरमा नगद र सुन हुन सक्ने अनुमानमा हत्या गर्न गोपालले बाँकेबाट गोर्खराज शाहीलाई पनि बोलाएका थिए। हत्या गर्ने योजना उनीहरूले जेठमै गरेका थिए। त्यसबेला नै श्रीदेवीसँग १०/१२ तोला सुन हुनसक्ने भएकोले लुट्ने सोचेका थिए।

तर त्यतिबेला श्रीदेवी गर्भवती रहेको हुँदा हत्या नगरी फर्किएको अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ। फेरि उनीहरूले असोजमा भेटेर कात्तिकमा हत्या गर्ने भनेर योजना बनाएका थिए।

घटनाको दुई साताको अनुसन्धानपछि प्रहरीले कात्तिक २३ गते नेपालगन्जबाट गोर्खबहादुरलाई पक्राउ गरेको हो।

उनीबाट एक लाख ७९ रुपैयाँ, नेपाली राहादानी बरामद भएको छ। उक्त रकम उनले सुन बेचेर लिएका थिए। उनले घटनास्थलमा गलबन्दी छाडेका थिए। उनले गलबन्दी आफ्नो भएको स्‍वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत मुगुबाट ११ दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।


Last Updated on: November 10th, 2023 at 10:30 pm

२०४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया