बुधबार २० मंसिर २०८०

दाङ– बिदाका बेला घर आएर मालुका पात टिप्न जंगल गएका सशस्त्र प्रहरीका १ जना जवानको गोली प्रहार गरी हत्या गरिएको छ। दाङको घोराही उपमहानगरपालिका–७ हर्निया घर भइ सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वार्टर तौलीहवा कपिलवस्तु दरबन्दी भएका सशस्त्र प्रहरी जवान २८ वर्षीय जगरु चौधरीको गोली हानी हत्या गरिएको हो।

घरबिदामा आएका बेला मालुको पात टिप्न स्थानीय जनसेवा सामुदायिक वनमा गएका बेला चौधरीमाथि गोली प्रहार भएको थियो। गोली लागेर उनको जंगलमा नै मृत्यु भएको थियो।

सशस्त्र प्रहरीका जवान चौधरीमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–५ बरलाटोल बस्ने ५५ वर्षीय शेरबहादुर केसी छन्। प्रहरीले उनलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

गोली प्रहार गरी चौधरीको हत्या गरेपछि फरार रहेका केसीलाई आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

केसीलाई सोधपुछ गरी घटनामा प्रयोग भएको भरुवा बन्दुक १ थान र भरुवा बन्दुकमा प्रयोग हुने सिसाको छर्रा तथा बारुद जंगलको ओडारमा लुकाएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका केसीविरुद्ध कर्तव्य जान तथा हातहतियार खरखजानासम्बन्धी कुसरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।


Last Updated on: November 11th, 2023 at 7:50 pm

९८० पटक हेरिएको

तपाईको प्रतिक्रिया