
तुलसीपुर । दाङमा रुखबाट खसेर ज्यान गएको भनिएका सशस्त्र प्रहरीका जवानलाई शिकारीको गोली लागेको पुष्टी भएको छ । सशस्त्र प्रहरी बल २८ नम्बर गण कपिलबस्तुमा कार्यरत घोराही उपमहानगरपालिका ७ का २८ वर्षीय जुगरू चौधरी कात्तिक २३ गते बिहान जनसेवा सामुदायिक वनमा मृत फेला परेका थिए ।
रुखबाट खसेर मृत्यु भएको भनिएका चौधरीलाई घोराही ५ बराला बोटका ५५ वर्षिय शेरबहादुर केसीले गोली हानेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभएको छ ।
मृत अवस्थामा भेटिएका चौधरीको छातीमा ५ ठाउँ र पिठ्युमा एउटा गरी ६ वटा भरूवा बन्दुकको छर्रा लागेको देखेपछी प्रहरीले अनुसन्धान तिव्र पारेको थियो । सोही क्रममा उनलाई गोली हानेको पुष्टी भएपछी घोराही ५ का केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट बरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने सिसाको छर्रा १ सय ७८ थान, बारुद २ डिब्बा, फायर गर्न प्रयोग गरिने केप लगाएतका सामाग्री पनि बरामद गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका केसीलाई सोधपुछ गर्दा मालुको बोटमा गुना बसेको भन्ने ठानेर आफूले गोली हानेको बयान दिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी जवान बिदामा घर आएको बेला मालुको पात टिप्न जंगल गएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।