
मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गर्नुको कारण आर्थिक कारोबार र धम्की रहेको निकटस्थहरूले खुलासा गरेका छन् । पार्लर व्यवसाय र अरू आर्थिक कारोबार मिलाउन नसकेपछि उनी निराशा र तनावमा थिइन् ।
उनी ज्यान फाल्ने अवस्थामा पुग्न भने केही व्यक्तिले दिएको निरन्तरको धम्कीले दुरुत्साहन गरेको हुनसक्ने निकटस्थहरूले अनुमान गरेका छन् । धम्की आर्थिक कारोबारसँग नै सम्बन्धित थियो ।
कला क्षेत्रकी उम्दा प्रतिभा दिपाशा मिटरब्याजले किलकिलो अँठ्याएर छटपटाइरहिन् । साथीसङ्गीसँग सहयोगको याचना गरिन् । ऋण ‘दिन दुई गुणा–रात चार गुणा’ का दरले बढ्दै गयो ।
पैसा नदिए फेसबूकमा लेखेर बेइज्जत गर्ने धम्की आयो । मिटरब्याजको गलपासोले थिचिएकी दिपाशाले मुक्त हुन विषको सहारा लिइन् । अहिले उनले संसार छाडेपछि भने शोक सन्तप्त साथीहरू श्रद्धाञ्जली लेखिरहेका छन् । तर, सास छँदा भने सहयोग गर्न कसैले वास्ता गरेन ।