बुधबार २० मंसिर २०८०

छाँयानाथ रारा नगरपालिका–६ मुन्दुका दीपक बोहोरा ७ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतार काम गर्दैआएका थिए। उनी काम गर्ने कम्पनीबाट राम्रै कमाई हुन्थ्यो। दीपकको कमाइले घर-परिवार राम्रैसँग चल्दैथियो। बचेको पैसाले उनले मुगु सदरमुकाम गमगढीमा एक वर्षअघि नै घडेरी जोडिसकेका थिए।

आउँदो जेठदेखि त्यही घडेरीमा घर बनाएर कुनै व्यवसाय गर्ने सल्लाह उनले श्रीमती श्रीदेवीसँग गरेकी थिइन्। व्यापार व्यवसाय गरेर श्रीमती र तीन छोराछोरीको लालपालन राम्रोसँग गर्ने सपना देखेका थिए दीपकले। तर कात्तिक ८ गतेको रात उनको सारा सपना तुहियो। उनले श्रीमती श्रीदेवीलाई मात्रै होइन, ११ वर्षीय छोरा मनोज, ७ वर्षिया छोरी अप्सार र भर्खरै ५ महिनाका छोरा रहरलाई सधैंका लागि गुमाए। आफन्तले नै उनीहरूको विभत्स हत्या गरेका थिए।

कतारमा हुँदा उनले दिनहुँ श्रीदेवीसँग भिडियो कल गर्थे। हरेक कुराकानीमा छिट्टै घर फर्किएर ऋण सापट गरेर घर बनाउने सल्लाह हुन्थ्यो उनीहरूको। श्रीमतीसँगको भिडियो कुराकानी सम्झिँदा उनी भावविह्ल बन्छन्। ‘छोरा-छोरीलाई बजारको बोर्डिङ स्कुलमा पढाउनुपर्छ भन्थिन्। छोरीले झुम्का र छोरोले मोबाइल ल्याइदिनु भन्थे,’ आँशु चुहाउँदै दीपक सम्झिन्छन्। छोराछोरीको कुरा टार्न नसकेरै कतारबाट सधैंका लागि जेठ-असारमा घर फर्किने योजना बनाएका थिए दीपकले।

दीपकलाई कात्तिक १० गते बिहानै दाईकी छोरीले भिडियो कल गरेकी थिइन्। भिडियो कलमा उनी रोइनमात्र, केही बोल्नै सकिनन्। दाई छोरीहरू रुँदै भिडियो कल गरेपछि दीपकको मन अतालियो। बल्लतल्ल हिमत गरेरे छोरीहरूले घटना सुनाएकी रहिछन्। घटना सुनेर छानोबाट खसेजस्तै भएको थियो दीपकलाई। ८ गते अबेर रातसम्म भिडियोकलमा श्रीमती र छोराछोरीसँग कुरा भएको उनी सम्झिन्छन्। ‘पापीले मेरा सबै योजना र सपना चकनाचुर बनाइदिए। घर न घाटको भएँ। के गर्ने? कहाँ जाने? कसका लागि के गर्ने?,’ उनी मनमनै प्रश्न गर्छन्।

हत्यामा संलग्न रहेको भन्दै शुक्रबार प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गर्‍यो। पक्राउ पर्नेमा गोपाल बोहोरा र र गोर्खबहादुर शाही छन्। गोपल श्रीदेवीका मामाको छोरा हुन् भने गोर्खबहादुर नातामा दीपकका अकंल पर्छन्। ‘दुबै जनासँग मेरो कुनै रिसइबी, लेनदेन थिएन। भीसा पठाउन सहयोग नगरेको भन्दै हत्या गर्न पहिलादेखि नै हत्याको योजना बनाएका रहेछन्। सालोले आफ्नै भान्जा, भतिजाहरूलाई त भीसा पठाउन सकेका छैनन्। अरुलाई कसरी पठाओस्,’ दीपकका भिनाजु जंग भामले भने।

उनले घटनामा गोपालकी आमा रेशा बोहोराको पनि संलग्नता रहेको दाबी गरे। ‘प्रहरीले रेशालाई अझै कानुनी प्रक्रियामा ल्याउन सकेको छैन। हाम्रो माग नै रेशासहित योजनाकारलाई कानुनी कारबाही गर्नु रहेको छ,’ उनले भने। अन्नपूर्ण बाट


Last Updated on: November 11th, 2023 at 8:34 pm

२४५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया