शनिबार १६ मंसिर २०८०

नेपाली सेनाले उमेरको विषयमा छानबिन सुरु गरेपछि वरिष्ठ उपरथी ताराध्वज पाण्डेले राजनीमा दिए । रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।

बलाध्यक्ष रथी सरोजप्रताप राणा कात्तिक दोस्रो साता अवकाशमा गएसँगै एक वर्षपछि नेपाली सेनामा नयाँ प्रधानसेनापति को बन्ने भन्ने टुंगो लागिसकेको छैन । सैनिक ऐनअनुसार नेपाली सेनामा वरिष्ठ उपरथीलाई रथीमा सिफारिस गरिन्छ । सोहीअनुसार वरिष्ठ उपरथी पाण्डेको बढुवाको प्रक्रियामा सैनिक मुख्यालयले प्रक्रिया थालेको थियो ।

सैनिक सेवा नियमावलीअनुसार जंगी अड्डाले पाण्डेविरुद्ध ७ दिने उजुरी पनि आह्वान गरेको थियो । पाण्डेको जन्ममिति फरकफरक भएको नागरिकता र शैक्षिक प्रमाणपत्रसहितको फोटोकपी रक्षा मन्त्रालय र अन्य निकायमा पुगेको थियो । उनको जन्ममिति २०२१ साल र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आएका छन् ।

सैनिक स्रोतका अनुसार आफूमाथि उठेका प्रश्नलाई लिएर पाण्डेले सेनाभित्र आफ्नो दस्ताबेजमा २०२३ सालकै जन्म रहेको र सबै दस्ताबेजमा एउटा उमेर रहेको दाबी गरेका थिए । बाहिरको दस्ताबेज र उपरथी पाण्डेको भनाइ बाझिएपछि सेनाले छानबिन सुरु गरेको थियो।

उपरथी पाण्डे बढुवा नभएको अवस्थामा मंसिरको दोस्रो साता अवकाशमा जाँदै थिए । अब उनले राजनीनामा दिएपछि उनको स्थानमा अर्का उपरथी अशोक सिग्देललाई बढुवाको बाटो खुलेको छ । प्रधानसेनापति प्रभुराम शर्माको ३ वर्षे कार्यकाल अर्को वर्षको भदौ २४ मा सकिँदै छ । त्यसपछि वरिष्ठताका आधारमा पाण्डे प्रधानसेनापति बन्ने लाइन थिए ।

प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको बढुवा सिफारिस समितिले उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा गर्न असोज अन्तिम साता सूचना जारी गर्‍यो। सूचनामा उपरथी पाण्डेलाई रथीमा बढुवा गर्न सिफारिस गरिएको उल्लेख गर्दै त्यसप्रति कुनै उजुरी भए सात दिनभित्र दिन भनिएको थियो।

२०८१ भदौ २४ गते कार्यकाल पूरा गरेर अनिवार्य अवकासमा जान लागेका प्रधानसेनापति शर्माले आफ्नो उत्तराधिकारीका रूपमा पाण्डेलाई अगाडि बढाएका थिए। यदि शुक्रबार राजीनामा दिन बाध्य नभएको भए शर्मापछि नेपाली सेनाको कमाण्ड उनै पाण्डेले गर्ने करिब निश्चित थियो।

तर, बढुवा समितिले सूचना जारी गरेपछि नै पाण्डेको उमेर विवाद सार्वजनिक भयो। शैक्षिक प्रमाण पत्र र नागरिकतामा छुट्टाछुट्टै जन्ममिति रहेको र पछि मिलाएको आरोप उनीमाथि लागेको भए पनि सेनाले यसलाई ढाकछोपको प्रयास गर्‍यो।

कात्तिक ५ गते विज्ञप्ति नै जारी गरेर जंगी अड्डाले स्वीकृत दरबन्दी रिक्त भएको पदमा प्रचलित ऐन, नियमावलीलगायत कानुनी प्रावधान एवं नेपाली सेनाको स्थापित अभ्यासअनुरुप नै पदोन्नतिको प्रक्रिया अगाडि बढेको दाबी गरेको थियो।

यसको १९ दिनपछि उमेरमा उठेको प्रश्न होइन, सेनाजस्तो संगठनको मुख्यालयले जारी गरेको विज्ञप्तिचाहिँ झुट् भएको पुष्टि भयो। किनभने, उमेर विवादमा छानबिन गर्न चौतर्फी दबाब बढेपछि सेनाले वरिष्ठतम् रथी सीताराम खड्काको नेतृत्वमा समिति बनायो।

उमेर सच्याएको खुले कारबाहीमा पर्ने देखेपछि उपरथी पाण्डेले यसबाट बच्न पहिल्यै राजीनामा दिएर सेवाबाटै बाहिरिने बाटो रोजे। भावी सेनाप्रमुखको दौड पनि यहीँ समाप्त भयो। प्रारम्भिक अनुसन्धानमा पाण्डेका कागजात शंकास्पद देखिएपछि छानबिन समितिले कोर्टमार्सल (सैनिक अदालत) गठन गर्न सुझाव दिएको थियो। त्यसपछि पाण्डे राजीनामा दिन बाध्य भए।

पछिल्लो समय नेपाली सेनामा नक्कली प्रमाण पत्र र किर्तेका एकपछि अर्का विवाद र प्रमाण बाहिरिन थालेका छन्। यसअघि उमेर विवादकै कारण ८ महिनाअघि उपरथी प्रेम शाहीलाई बर्खास्त गरिएको थियो। शाहीलाई बर्खास्त गर्ने कोर्टमार्सलको नेतृत्व ताराध्वज पाण्डेले नै गरेका थिए। अहिले आएर तिनै पाण्डे आफू पनि सोही विवादमा परे र कारबाही हुनुअघि राजीनामा दिएर बाहिरिए।

उपरथी शाहीसहित प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्लसेना बिरुद्ध उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा गठन भएको कोर्ट मार्सलमा कारबाही भएको थियो ।


Last Updated on: November 13th, 2023 at 10:09 am

११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया