Ultimate magazine theme for WordPress.

‘सारेगमप’की रोशा फुयाँल : उत्कृष्टताको अर्को नाम !

66

नेपाली गायन रियालिटी सो ‘सारेगमप लिटल च्याम्प’मा झापाकी प्रतियोगी रोशा फुयाँलले टप–१५ को उत्कृष्ट बन्दै ‘पर्फमर अफ द विक’ बन्न सफल भइन् ।

शीर्ष १५ जनाको प्रतिभा हेरेर निर्णायकत्रय न्हु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटाले १४ वर्षीया रोशालाई उत्कृष्ट ठहर गरे । ‘पर्फमर अफ द विक’ बनेसँगै उनले डाबर र जोयको तर्फबाट गिफ्ट हात पारिन् ।रोशाले टप १५ मा सुनीति अधिकारीको ‘बहारसँगै उड्यो मन’ बोलको गीत गाएकी थिइन् ।

उनको प्रस्तुतिले निर्णायक र ग्रान्ड जुरीको मन जित्यो । ग्रान्ड जुरी र जजबाट शतप्रतिशत अङ्क पाएकी रोशाले दुवै पक्षबाट ‘स्टान्डिङ अभियसन’ पनि पाइन् । केही समय निरन्तर रूपमा बजेको तालीको गडगडाहटपछि भने रोशा स्टेजमा आफैँ पनि भावुक बनेकी थिइन् ।

प्रस्तुतिका बारे प्रतिक्रिया दिने क्रममा गायक कालीले रोशाले गरेको प्रस्तुतिका बारेमा प्रतिक्रिया दिन शब्द अभाव भएको बताए । ‘रोशाको प्रस्तुतिमा जति कमेन्ट गरे पनि कम नै भएजस्तो लाग्छ,’ उनले भने, ‘अरू भाइबहिनीले गाउँदा कतै बिगार्ला भन्ने डर हुन्छ तर रोशाले गाउँदा सुन्न छुट्ला कि भन्ने डर हुन्छ ।

तिमीलाई देखेपछि नेपाली सङ्गीतको भविष्य उज्ज्वल छ जस्तो लाग्छ मलाई ।’ यस्तै, गायिका इन्दिराले रोशालाई लामो रेसको घोडा भनेर प्रशंसा गरिरहँदा गायक न्हुले रोशाको सङ्गीतप्रतिको ऊर्जाका कारण आफूले वरदान पाइरहेको महसुस भएको सुनाए ।

अडिसनमा ‘तहल्का’ पिट्दै दोस्रो चरणमा प्रवेश गरेकी रोशाले जज तथा जुरीका साथै दर्शक–श्रोतालाई मुहुनी लगाउने क्रम जारी नै छ । अझ, अब दर्शक–श्रोताले पनि भोटमार्फत प्रत्यक्ष सहभागी बन्ने क्रम सुरु भएको छ । अर्थात्, अब दर्शक–श्रोताले आफ्नो मन पर्ने प्रतियोगीलाई भोट गरी अघिल्लो चरणसम्मको यात्रा सम्भव बनाउन सक्ने छन् ।

रोशाको सङ्गीत अनुभव त्यति लामो नभए पनि निरन्तरको साधनाका कारण प्रतिभा भने अब्बल छ । कक्षा ९ मा अध्ययनरत रोशाले औपचारिक रूपमा सङ्गीत सिक्न थालेको आठ–नौ वर्ष भयो । उनले चार वर्षको उमेरबाट सङ्गीत सिक्न थालेकी हुन् ।उनका दाजु रोशन हुन्, रोशाको पहिलो गुरु ।

सङ्गीतमा रोशनकै हात समातेर अगाडि बढेकी रोशाले दाजुसँगै हार्मोनियम चलाउन सिकिन् ।दाइ पनि सङ्गीत क्षेत्रमा लागिपरेका छन् । उनकै बाटोमा अगाडि बढ्ने क्रममा छिन्, रोशा पनि । मेचीनगर नगरपालिका–८ स्थायी घर भएकी उनी हाल बिर्तामोड–५ बस्छिन् ।

स्थानीय देवी माविमा कक्षा ९ मा अध्ययन गर्ने उनले बिर्तामोडकै सनलाइट म्युजिक स्कुलमा सङ्गीत सिकिरहेकी छन् । अहिले उनी अरू प्रतियोगीजस्तै सारेगमपमा सहभागी छिमेकी मुलुक भारत र स्वदेशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गरिरहेकी छन् ।सङ्गीतमै केही गर्छु भनेर अगाडि बढिरहेकी उनलाई सारेगमपले साथ दिइरहेको छ ।

‘सारेगमपले उसको सपनालाई साकार गर्ने काम गरिरहेको छ’, रोशाकी आमा कला बाँस्कोटा भन्छिन्, ‘दाइले सिकाएको हो । दाइले सिक्दै गर्दा उसलाई राग र हार्मोनियम सिकाउँथ्यो । उसले डोर्‍याउँदै गर्दा सारेगमपसँग रोशाको भेट भएको हो । एक दिन गायिका बन्छु भनेर सपना सुनाइरहन्थी । सायद यहीबाटै पूरा हुन्छ ।’