शनिबार १६ मंसिर २०८०

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले दुइटा पक्षको विवाद, मुठभेड र भिडन्त रोक्न माइतीघर मण्डला क्षेत्रमा धर्ना, जुलुस, विरोध, अनसन, र्‍याली आदि गतिविधि गर्न नपाउने गरी निषेधादेश जारी गरिएको बताएका छन् ।

‘मंसिर ७ गते दुइटा पक्षले माइतीघर क्षेत्रलाई केन्द्र मानेर कार्यक्रम गर्दा आपसी विवाद, मुठभेड र भिडन्त हुन सक्ने पूर्वसूचना अनुसार हामीले पाँच जनाभन्दा बढी व्यक्ति भेला वा जम्मा हुन पनि नपाउने गरी निषेध आदेश जारी गरेका छौं । त्यहाँ रहेका अनसनकारीलाई शान्तिवाटिकामा व्यवस्था गरेका छौं । अब कसैले पनि त्यहाँ कुनै पनि प्रकारका गतिविधि गर्न पाउँदैनन्,’ एक कुराकानीमा उनले भने ।

प्रजिअ बस्नेतले शान्तिपूर्ण कार्यक्रमका लागि दुवै पक्षलाई ठाउँ उपलब्ध गराउने पनि बताए । उनले थपे, ‘माइतीघर मण्डला क्षेत्रमा सर्वोच्च अदालत एवं अन्य महत्त्वपूर्ण सरकारी कार्यालय छन् । तिनलाई सुरक्षित राख्नु स्थानीय प्रशासनको कर्तव्य हो । तर शान्तिपूर्ण कार्यक्रमका लागि हामी ठाउँ उपलब्ध गराउँछौं ।

युवा संघलाई काठमाडौं पूर्वको तीनकुने क्षेत्र तोकिएको छ भने अर्को समूहलाई काठमाडौँको बल्खु चोक क्षेत्र तोकिएको छ । सो कार्यक्रमका लागि गठित अध्यक्ष मण्डलका सदस्य तथा संगठन एवं कार्यक्रम प्रमुख हरि कार्कीले उक्त दिन बल्खु चोकमा प्रदर्शन गर्ने गरी कार्यक्रम बनाइएको जानकारी दिएका हुन्। उनले भने, ‘कार्यक्रम दिउँसो १ बजे सुरु गर्ने छौँ।’

यसअघि प्रसाईं समूहले आफ्नो कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि काठमाडौँको कुन ठाउँमा प्रदर्शन गर्ने भन्ने कुरा खुलाएको थिएन।

आज भने प्रदर्शनस्थल बल्खु चोकलाई तोक्ने निर्णय भएको कार्कीले जानकारी दिए। यसका लागि प्रसाईं समूहले केही दिनदेखि तयारी गरिरहेको छ।


Last Updated on: November 21st, 2023 at 12:25 pm

१०४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया