बुधबार २० मंसिर २०८०

काठमाडौं । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गरेको छ ।

एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले कन्टेन क्रियटरलाई केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेका बेला नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको दाबी छ ।

सरकारले हालैमात्र नेपालमा सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको छ । सरकारले सामाजिक सद्भावमा खलल पु¥याउन सक्ने भन्दै टिकटक प्रतिबन्ध गर्दा नेपाली प्रयोगकर्ताहरूका लागि यो एप उपयोगी हुने कम्पनीले बताएको छ ।

यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानुनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउन सरकारलाई सहयोग समेत गर्ने प्रतिबद्धता कम्पनीले बनाएको छ ।

गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ’कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्ड गर्नेदेखि एकाउन्ट नै सदाको लागि बन्द गराउने समेत कम्पनीले जनाएको छ ।

नेपाली प्रयोगकर्ताहरूको डेटा नेपालमा नै सुरक्षित हुने हुँदा प्रयोगकर्ता थप सुरक्षित र ढुक्क भई सामाजिक सञ्जालमा रमाउन सक्ने कम्पनीको दाबी छ । रमाइलो एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच राख्न सक्ने बताइएको छ । यस एपलाई हाल गुगल प्ले स्टोरमा उपलब्ध गराइएको छ । केही दिनमा आइफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडिओ अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको थियो। नेपालको आफ्नै एप नहुँदा यसअघि सबै विदेशी एप नेपाली प्रयोगकर्ताहरूले प्रयोग गर्नुपर्ने बाध्यतालाई चिर्दै अब भने नेपाली उत्पादनका रूपमा मोबाइल एप नेपाली प्रयोगकर्ताहरू माझ आएको हो। नेपालमै बनेको यस एपलाई नेपाली प्रयोगकर्ताहरूले रूचाउने अपेक्षा कम्पनीको छ।


Last Updated on: November 21st, 2023 at 3:40 pm

१२४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया