बुधबार २० मंसिर २०८०

काठमाडाैं । मंसिर ७ गते बिहीबार एमाले नेतृत्व खासगरी एमाले नेता महेश बस्नेत र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नै महाभिडन्त उत्रिन तम्तयार रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियान्ता दुर्गा प्रसाई विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको छ । गएको कात्तिक २८ गते हिन्दु सम्राट सेना धनुषाले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि रहेका प्रसाईंकै निर्देशनमा पुरानो राष्ट्रिय गान बजाएको भन्दै जाहेरी परेको हो ।

प्रसाईंकै निर्देशनमा सयौं थुंगा फुलका हामी एउटै माला नेपालीको सट्टामा श्रीमान् गम्भीर नेपाली, प्रचण्ड प्रतापी भूपती… राष्ट्रिय गान बजाएर नेपाली राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको अभियोगमा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतकै निर्देशनमा युवा संघ नेपाल धनुषाका अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पनि पुष्टि गरेको छ । प्रसाईं विरुद्धको जाहेरी दर्ता भएको र यसउपर थप अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नेपालको मौजुदा मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धि कसुर गरेको अभियोग सहित निज विपक्षीलाई खोजतलास गरि अपराध संहिताको दफा १५३ (२) को १ बमोजिम हदैसम्मको कैद तथा जरिवाना गराउन पनि माग गरिएको छ । पछिल्लो समयमा एक अर्का विरुद्ध व्यक्तिगत तहमै आरोप-प्रत्यारोप र गालिगलौजमा उत्रिएका एमाले नेता बस्नेत र महाअभियानका अभियान्ता प्रसाईंबिचको विवाद राजनीतिक हुँदै कानुनी तहसम्मै पुगेपछि कतै मंसिर ७ को शक्ति प्रदर्शन अगावै अभियान्ता प्रसाईं कानुनी झमेलामा फस्ने हुन् कि भन्ने प्रश्न पनि खडा भएको हो । एउटा जाहेरीकै भरमा अहिले नै धनुषा प्रहरीले प्रसाईं विरुद्ध कानुनी कार्वाही अगाडि बढाउँछ वा बढाउँदैन भन्ने प्रश्न भने अनुत्तरित नै छ ।

अर्कोतिर जसरी पनि प्रसाईंलाई ठेगान लगाउने शैलीमामा प्रस्तुत भएर शक्ति प्रदर्शनमा उत्रिएका महेश बस्नेत सहितको एमालेको संगठित शक्तिले प्रसाईंलाई कानुनी कार्वाही अगाडि बढाउन सरकारमाथी नै दबाब सिर्जना गर्न सक्ने हुनाले पनि प्रसाईं कानुनको फन्दामा नपर्लान भनेर पनि भन्न सकिन्न । उसै पनि प्रसाईं विरुद्धको शक्ति प्रदर्शनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैं अग्रसर छन् । मंसिर ७ गते महाअभियानको शक्ति प्रदर्शनको क्रममा एमाले अध्यक्ष ओली विरुद्धका प्रमाण सार्वजनिक गर्ने चुनौती दिएका प्रसाईंलाई रोक्न एमालेले सबै शक्ति परिचालित गर्ने कुरामा कुनै संदेह छैन ।


Last Updated on: November 21st, 2023 at 6:05 pm

६११ पटक हेरिएको

तपाईको प्रतिक्रिया