शुक्रबार १४ आश्विन २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली हत्तपत्त बालुवाटार जाँदैनन् । बुधबार बिहान उनी उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवासमा जाँदा प्रधानमन्त्री शेरबहादुर देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित पर्खिरहेका थिए ।

ओलीले सुरुमै चारबुँदा राखे । चुनाव, टीआरसी, नागरिकता विधेयक र मूल्यवृद्धि । तर दोस्रो बुँदाबाट कुरा थाले ।सहभागी नेता विष्णु पौडेलले सुनाएअनुसार ओलीले भने, ‘यो देशमा एमाले भन्ने पार्टी पनि छ प्रधानमन्त्रीजी । यो कुरो बिर्सेर टीआरसीमा मनलाग्दी गर्ने ?’

बैठकमा सहभागी अर्का नेताका अनुसार सरकारले प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक छलफलका लागि पेश गरे पनि तार्किक निष्कर्षमा पुग्नेमा एमालेले आशंका गरेको छ ।

‘सरकारले यस्तो संवेदनशील विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल गर्नुपर्ने होइन र ? कि एक्लै हिँडेर पुगिन्छ भन्ने तपाईंलाई परेको हो ?’ ओलीले देउवालाई भनेको उद्धृत गर्दै ती नेताले सुनाए ।ओलीले चुनाव विश्वसनीय हुनेमा आशंका पैदा भएको, सत्ता गठबन्धनले दम्भ देखाएको आरोप लगाए ।

देउवाले उनलाई बीचैमा रोक्दै त्यस्तो कल्पना नगर्न आग्रह गरे । ‘कसैले भाषणमा के के बोल्यो होला, तर त्यसलाई इस्यु बनाइदिन भएन नि,’ देउवाले ओलीलाई भनेको स्रोतले उद्धृत ग¥यो ।एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘चुनाव आउन अझै बाँकी छ, तर गठबन्धनले दम्भ प्रदर्शित ग¥यो । यो चुनावको माहोल बिगार्ने प्रपन्च हो भनेर हामीले भन्यौं ।’

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालेमंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज (बुधबार) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न र त्यसबारे भ्रम सिर्जना नगर्न आग्रह गर्दै निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न र त्यसबारे भ्रम सिर्जना नगर्न आग्रह गरेका थिए ।

भेटमा एमाले अध्यक्ष ओलीले सरकारले संसद्मा अघि बढाएको नागरिकता विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत धारणा राखेका थिए । त्यस्तै, बजारमा बढ्दो महँगी नियन्त्रणमा समेत सरकारले भूमिका खेल्न नसकेको भन्दै ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री देउवाले ती विषय सत्ता गठबन्धनमा समेत राख्ने भन्दै सरकारले गम्भीर रुपमा लिएर अघि बढ्ने बताएका थिए । देउवा-ओलीबीच करिब दुई घण्टा छलफल भएको छ ।

भेटमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी थिए । सरकारले चुनावको मिति घोषणा गर्नेबेला परामर्श नलिएको गुनासो गर्दै आएको एमालेसँग प्रधानमन्त्री देउवाले मिति नजिकिँदै जाँदा त्यसबारे छलफल गरेका हुन् ।

सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको निष्कर्ष ननिस्किएका बेला देउवा-ओलीबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गठबन्धनको सिट बाँडफाँटसम्बन्धी बैठक बुधबारै साँझ ५ बजे पुनः बस्दैछ ।

प्रतिनिधिसभामा फेरि पुगेर पारित भएको नागरिकता विधेयकबारे सरकारले के गर्छ भनेर पनि ओलीले सोधेका छन् ।नागरिकता विधेयक पारित गरी सभामुखमार्फत् प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक फिर्ता पठाएकी थिइन् ।

राष्ट्रपतिको जायज सरोकारलाई ध्यान दिनुको साटो सरकारले हुबहु फेरि नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित गरेर भिड्ने मनस्थिति बनाएको ओलीले आरोप लगाए ।एमाले अध्यक्ष ओलीले मूल्यवृद्धि र महँगीबाट जनता आक्रान्त हुँदा पनि सम्बोधन नभएको भन्दै गुनासो गरेका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले प्रतिपक्षीले उठान गरेको विषय आफूले सकारात्मक रूपमा लिएको भन्दै धन्यवाद दिएका छन् । ‘यसमध्ये कतिपय कुरा मैले गरुँला, तर कतिपय एक्लै गर्नसक्ने कुरा छैन,’ प्रधानमन्त्रीले ओलीलाई जवाफ दिए, ‘अबको गठबन्धन मिटिङमा पनि यसबारे कुरा राखौंला ।’


Last Updated on: August 24th, 2022 at 12:42 pm

तपाईको प्रतिक्रिया