Ultimate magazine theme for WordPress.

मेरै कार्यकालमा प्रदेशको नाम राख्छु र अरुणको पक्की पुल निर्माण सक्छु : मुख्यमन्त्री राई

99

संखुवासभा : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण र अरुणमा निर्माणाधीन पक्की पुल निर्माण सक्ने दृढता व्यक्त गरेका छन्।

गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारसँग उनले अरुणमा पक्की पुल निर्माण प्रक्रिया प्रदेश सरकारले अघि बढाउने बताए। तिहार मनाउन गृहजिल्ला भोजपुरको षडानन्द जाँदा मुख्यमन्त्री राईले पैदल यात्राको स्मरण गर्दै अरुणमा पक्की पुल निर्माण गरेरै छाड्ने दृढता जनाए।

भोजपुर जिल्लाको षडानन्द नगरपालिका र संखुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण हुन नसकेकोमा उनले दुःख व्यक्त गरे। अरुणमा पक्की पुल नहुँदा यातायातका साधन वारपार हुँदैनन्। संघीय सरकारले १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म निर्माण भएको छैन।

आफ्नो कार्यकाल छोटो भएपनि अरुणमा पक्की पुल बन्नेमा ढुक्क हुन जिल्लावासीसँग आग्रह गरे। अरुणमा पुल नहुँदा भोजपुरवासीले निकै सास्ती पाएको उनले बताए। अघिल्लो सरकारले थालेका कामहरू पूरा गर्ने र थालेका आयोजना महत्वका साथ अघि बढाउने उनले बताए।

‘प्रदेशको नाम मेरै कार्यकालमा राखिन्छ’– प्रदेश १ प्रदेशका मुख्यमन्त्री राईले प्रदेशको नामकरण आफ्नै कार्यकालमा गर्ने बताए। नामबारे तिहारलगत्तै छलफल थालिने उनले बताए। नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने उनको भनाइ छ। नामकरणका लागि प्रतिपक्षी एमालेसँग समेत छलफल गर्ने मुख्यमन्त्री राईले बताए।

प्रदेशको नाम बहुपहिचानका आधारमा सहमतिबाट टुङ्गो लगाउने उनले बताए। यसअघिको सरकारले संसदमा छलफलको प्रयासै नगरेकाले प्रदेशको नाम अहिलेसम्म थाँती रहेको उनको भनाइ थियो। शेरधन राईको सरकारले प्रदेशको नामकरणका लागि पहल नै नगरेको आरोप पनि उनले लगाए। प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ मतबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।