आइतबार १६ आश्विन २०७९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रेहका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच विभिन्न विषयमा छलफल भएको छ ।

झन्डै ६ महिनापछि बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओलीले प्रधानमन्त्री देउवालाई समसामयिक राजनीतिक घटनाका विषयमा ध्यानाकर्षण गराएका छन् । भेटवार्तामा एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल तथा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।

प्रवक्ता कार्कीका अनुसार भेटवार्तामा ओलीले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन निष्पक्ष हुनुपर्ने तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयकमा प्रतिपक्षीसँग छलफल गरेर अघि बढ्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

साथै विवादित बनेको नागरिकता विधेयकमा पनि छलफल भएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाएकी थिइन् तर, सरकारले भदौ २ गते हुबहु फेरि प्रतिनिधि सभाबाट पारित गरेको छ । यसमा एमालेले सातवर्षे हदम्याद राखेर सर्वस्वीकार्य बनाउन माग राख्दै आएको थियो ।

भेटमा ओलीले दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएर जनताकाे जनजिवन कष्टकर बन्दै जाँदा पनि सरकारले नियन्त्रणका लागि खासै पहल नगरेकोमा समेत ध्यानाकर्षण गराएका छन् । यी सबै विषयमा प्रधानमन्त्री देउवाले सकारात्मक रूपमा लिएकाे र पाँच दलीय गठबन्धनमा समेत छलफल गरेर अघि बढ्ने बताएकाे प्रवक्ता कार्कीले जानकारी दिए ।


Last Updated on: August 24th, 2022 at 1:00 pm

तपाईको प्रतिक्रिया