Ultimate magazine theme for WordPress.

कांग्रेस अधिवेशन : रिजर्भ बसमा क्षेत्रीय प्रतिनिधि सरर

44

खोटाङ-नेपाली कांग्रेसको जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि गाडी रिजर्भ गरेर दिक्तेल भित्रिन थालेका छन् । ६ मंसिरमा हुने जिल्ला अधिवेशनका लागि विभिन्न पालिकाका क्षेत्रीय प्रतिनिधि जिप तथा बस रिजर्भ गर्दै दिक्तेल आउन थालेका हुन् ।

बराहपोखरी, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका सयौं क्षेत्रीय प्रतिनिधि शनिबार साँझ ६ वटा रिजर्भ बसमा कांग्रेसको झण्डा फहराउँदै दिक्तेल भित्रिएका छन् । क्षेत्रीय कार्य समिति (प्रदेश ख) को अधिवेशनका लागि खोटेहाङ गाउँपालिकाको सिमपानीमा भेला भएका बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाका क्षेत्रीय प्रतिनिधि घर नफर्की सिधै जिल्ला अधिवेशनका लागि दिक्तेल पुगेका हुन् ।

क्षेत्रीय प्रतिनिधि बोक्न सिमपानी–दिक्तेलका लागि प्रतिवटा ३५ हजारमा बस रिजर्भ गरिएको कांग्रेस बराहपोखरी गाउँपालिकाका सभापति खिलाराज राई (दीपक)ले बताए ।क्षेत्रीय प्रतिनिधि बोक्नका लागि बराहपोखरीबाट सिमपानीसम्म पुग्न प्रतिवटा १५ हजारमा दुई वटा जिप रिजर्भ गरिएको थियो ।

जन्तेढुंगाबाट प्रतिवटा १५ हजारमा पाँच वटा जिप रिजर्भ गरेर सिमपानी पुगेका क्षेत्रीय प्रतिनिधिलाई दुई वटा बस रिजर्भ गरेर दिक्तेल पुर्‍याइएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए । बाइकबाट यात्रा गर्ने क्षेत्रीय प्रतिनिधि बाहेक अधिकांशलाई दिक्तेल लैजान गाडी रिजर्भ गरिएको जनाइएको छ ।

क्षेत्रीय प्रतिनिधिबाट पर्सनल खर्च उठाएरै गाडी रिजर्भ गरिएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष सालिकराम बञ्जरा बताउँछन् ।कांग्रेसको क्षेत्रीय प्रतिनिधि भित्रिएपछि दिक्तेलबजारका होटेल भरिभराउ भएका छन् । होटेलका अधिकांश कोठा बुकिङ गरिएका छन्

क्षेत्रीय प्रतिनिधिलाई क्षेत्रीय कार्य समितिले खाना र बासको व्यवस्था मिलाएको छ । पेय पदार्थका लागि भने आफैले खर्च गर्नु पर्ने छ । कांग्रेसको जिल्ला सभापतिका लागि पूर्व राज्यमन्त्री सर्वधन राई, पूर्व सभापति विष्णुकुमार राई, महासमिति सदस्य रबीप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई आकांक्षा देखिएका छन् ।

पूर्व राज्यमन्त्री सर्वधन र महासमिति सदस्य रबीप्रकाश केन्द्रमा सभापति देउवासँग नजिक मानिन्छन् । पूर्व सभापति विष्णुकुमार पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र सिटौलासँग नजिक मानिन्छन् ।