Ultimate magazine theme for WordPress.

सडकछेउको पर्खालभरि चित्रैचित्र, उत्कृष्ट चित्र बनाउनेलाई ओलीले नगद र प्रमाणपत्र दिने

59

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र हुने स्थान होटल सेभेन स्टारको पर्खालमा कलात्मक चित्र कोरिएको छ । `समृद्ध नेपाल सुखी नेपाली´को थिममा आयोजना गरिएको चित्रकला प्रतियोगितामा चितवन र नवलपुरका ५७ जना कलाकारले चित्र कोरेका छन् ।

होटलको २०० मिटर लामो पर्खालमा कलाकारहरुले चित्र कोरेका हुन् । नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिको संयोजनमा सिर्जनशील ललितकला संघ र प्रगतिशील ललितकला संघको आयोजनामा चित्रकला आयोजना गरिएको हो ।

वि.सं. २०५५ सालदेखि चित्रकलामा सक्रिय वर्ड आर्ट लिंकका सञ्चालक योगेश खनालले समृद्ध नेपाल, सुखी नेपाली अवधारणामा चित्रहरु कोरिएको बताए ।करिब २०० लामो पर्खालमा कोरिएको चित्र हेर्दा देशले चाहेको विकास र समृद्धिबारे सहजै बुझ्न सकिने भन्दै खनालले अधिकांश नवप्रवेशीहरुले चित्रकलामा भाग लिएको जानकारी दिए ।

कलाकारहरुले देशले शान्ति चाहेको आकृति, आँखाको नानीमा सूर्य चिन्हभित्र विकासका सूचक झल्कने चित्र, कृषिमा क्रान्तिको खाँचो औँल्याउने खालका चित्र, स्वयम्भु, धरहरा, परेवा, दुर्लभ पाटेबाघसहितका चित्रहरु कोरेका छन् । उत्कृष्ट चित्र बनाउने कलाकारलाई एमालेको महाधिवेशन उद्घाटनका दिन अध्यक्ष केपी शर्मा ओलीले नगद र प्रमाणपत्र सहित पुरस्कृत गर्ने बताइएको छ ।