शुक्रबार १४ आश्विन २०७९

काठमाडौं । आफ्नै आमामाथि आपत्तिजनक आरोप लगाएर सार्वजनिक स्थलमा नै ल्याएर कुटपिट गर्ने पुत्रलाई पुत्र नै भनौं कि कुपुत्र! छोराका नाममा एक कलंकले आफ्नो ६० वर्षीया आमालाई अस्पताल भर्ना हुने गरी कुटपिट गरेको एक दर्दनाक घटना हो, यो । छोरा मात्रै होइन, उनका बाबुसमेत मिलेर बृद्धामाथि अत्याचार गर्थे ।

अतिचार भएपछि सहन नसकेर ती आमा त्रिशूलीमा हाम्फालिन् । फुटबल खेल्दै गरेका युवाले देखेर उद्दार गरिदिए । अरु नै कसैले जन्माएका छोराहरुले यी आमाको ज्यान बचाए तर, आफैले जन्माएको छोराले भने बृद्धा आमालाई सडकमै कुटपिट गरे । अरुले रोक्न खोज्दा उनीहरुलाई पनि आक्रमण गरे ।

भीड बढेपछि ती कुपुत्र हतियार लिएर निस्के । कसैले कसैलाई कुटेको कुरालाई कसरी राम्रो भनौं तर, जनताले यी कुपुत्रको रामधुलाई गरे । कानून सम्झिँदा यो रामधुलाई गलत भन्नु पर्ने हुन्छ, तथ्य बुझ्दा जनताको अदालतलाई सलाम गर्नुपर्ने अवस्था छ ।

यो घटना काठमाडौँ बूढानीलकण्ठ नगरपालिका गोल्फुटारमा रहेको कुमारी बैंक अगाडिको हो । समय बिहान ११ः५८ बजे आइतबार । एक बृद्धा आफ्नै शुरमा हिडिरहेकी थिइन् । एक व्यक्ति दौडदैँ आउँछ र बृद्धामाथि आक्रमण गर्छ । उनले मुक्का हिर्काउछन्, बृद्धा आमा भुइँमा पछारिन्छिन् तर, कुटपिट गर्नेले बृद्धामाथि मुक्का वर्षाइरहन्छन् ।

यसरी कुटाइ खाने बृद्धा गोल्फुटार ८ बस्ने ६० वर्षीया गोमा खड्का हुन् भने उनलाई कुटपिट गर्ने अरु कोही नभएर गोमाको आफ्नै ४० वर्षीया छोरा प्रदीप खड्का हुन् ।प्रदीपले आफ्नो आमालाई मुक्का बजार्ने क्रममा अर्का एक युवाको इन्ट्री हुन्छ ।

यी युवाले बृद्धामाथिको अत्याचार रोक्न खोज्छन् । यहि बेला कुटपिटमा परिरहेकी बृद्धाका पति पनि आइपुग्छन् । पति र पुत्र मिलेर फेरि बृद्धामाथि र उनलाई जोगाउन खोज्ने युवामाथि पनि आक्रमण गर्न थाल्छन् । अचेत भएर ढलिसकेकी गोमामाथि कुनै दया नराखी उनकै पतिले लात्ती बजार्छन् ।

बृद्धामाथि उनकै ४० वर्षका कुपुत्र प्रदीप र उनका पति पूर्णबहादुरले सार्वजनिक स्थानमै कुटपिट गरिरहे । यस्तो अत्याचार सहन नसकेर आएका युवा पनि बाबुछोराको आक्रमणको सिकार भए । उक्त युवा घटनास्थल छेउमै रहेको कुमारी बैंकका ग्राहक थिए ।

एकैछिन्मा त्यहाँ भीड बढ्न थाल्छ । अरुले पनि कुटपिटमा परेकालाई बचाउँन खोज्छन् । तर, कुटपिटबाट जोगाउने खोज्ने जो कोहीमाथि यी बाबुछोरा जाइलाग्छन् । प्रत्यक्षदर्शीका अनुसार यी बाबुछोराले आफ्नो घर झगडाको मामलामा किन बोलेको भन्दै कुटपिट गरेका थिए ।

उमेर हेर्दा परिपक्व लाग्ने भएपनि सामाजिक मर्यादा र शिष्टाचारको समेत ख्याल नगर्ने बाबुछोराले वृद्धालाई जोगाउन आउने युवाकी दिदीलाई समेत कुटे । दिदीमाथि भएको कुटपिट सहन नसकेपछि पूर्णबहादुरमाथि यी युवा जाइलाग्छन् । सुरुमा घरेलु हिंसा जस्तो देखिने यो दृश्य एकै छिन्मा दुई समूहबीचको हानाहान जस्तो देखिन्छ ।

प्रदीपमाथि कुटपिट बढ्दै गएपछि उनी डरले नजिकैको यो रङ पसलमा छिर्छन् । यहि पसलको सीसीक्यामेरामा आमा कुट्ने छोरा, पत्नी कुट्ने पतिको कुकृत्य कैद भइरहेको थियो । भीडको डरले रङ पसलभित्र पसेका प्रदीप केही बेरमै धारिलो हतियार बोकेर निस्किन्छन् । आमा कुट्न रोक्नेहरुमाथि आक्रमण गर्ने उनको नियत स्पष्टै बुझ्न सकिन्छ ।

दूनियाँँका छोराहरु आफ्नी आमाको रक्षाका लागि हतियार उठाउँछन्, तर यी यस्ता छोरा निस्के जो, आमा कुट्न नपाउँदा हतियार बोकेर निस्किएका थिए । बाहिर भीडले पूर्णबहादुरको धुलाई गरिरहेको थियो । सडकमा गोमा अचेत नै थिइन् ।

घटनाको १० मिनेटपछि ट्राफिक प्रहरी आइपुग्छ । भीडको आक्रमणबाट जोगिन प्रदीप प्रहरीको आडमा लुक्न खोजिरहेका छन् । तर, एकैछिन्मा उनलाई बाहिर निकालेर भीडले आक्रमण गर्छ । बिलम्व नगरी बाबुछोरालाई प्रहरीले नियन्त्रणमा लियो ।

छोरा र पतिको कुटाइबाट गोमा अस्पताल भर्ना

श्रीमान र छोराको आक्रमणबाट गोमाको शरीरका विभिन्न भाग चोट लागेको छ । शरीरभरि नील डाम छ । सुन्निएर दुवै हात राम्ररी चलाउन नमिल्ने भएको छ । अहिले उनी त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचाररत छिन् ।

बाबुछोरा मिलेर किन गरे गोमामाथि आक्रमण?

त्यसदिन गोमा बैंकमा पैसा निकालेर फर्किदै थिइन् । जापान रहेको कान्छा छोरा प्रविनले राखिदिएको पैसा निकाल्न उनी कुमारी बैंक पुगेकी थिइन् । श्रीमान र छोराको यातना सहन नसकेर घर छाडेर डेरागरी बसेको ४ महिना भइसकेको थियो । त्यसदिन उनी बैंकमा आएका सुइको पाएपछि बाबुछोरा उनलाई कुटपिट गर्न योजना बनाएरै आएका थिए ।

वर्षौदेखि भोग्दै आएकी थिइन् पारिवारिक यातना

गोमाको भनाइ अनुसार उनी वर्षौंदेखि पति र छोरासमेतको कुटपिटको सिकार हुँदै आएकी छिन् । कुटपिट गर्न उनका श्रीमान र छोरालाई कुनै निहुँ चाहिदैन थियो । केही निहुँ नपाए आपत्तिजनक आरोप लगाएर पनि उनीमाथि कुटपिट गर्थे ।

१४ वर्षको छदाँ गोमाको पूर्णबहादुरसँग विवाह भएको थियो । पूर्णबहादुर विद्युत प्राधिकरणका रिटायर्ड कर्मचारी हुन् । गोमाले सानै उमेरमा विवाह गरेपनि उनको बैबाहिक जीवन कहिले पनि सुखमय भएन । श्रीमानबाट चरम हिंसा भोग्नु परेको गोमा बताउछिन् ।

आमाको पक्ष लिदाँ कान्छो छोरामाथि पनि कुटपिट हुन थाल्यो । आफ्नै बाबु र दाईको हिंसा सहन नसकेर कान्छा प्रविन परदेशिए ।जेठा प्रदीपले आमा मात्रै होइन, श्रीमती पनि कुट्थे । यहि भएर प्रदीपलाई उनकी पत्नीले छाडेर माइतीमै बसेकी छिन् ।

देखिरहनु भएको यो घर यहि अराजक परिवारको हो । उनीहरुसँग झण्डै पाँचकरोड बराबरको सम्पत्ती छ । आर्थिक हिसाबले खास समस्या देखिँदैन । मति बिग्रेका बाबु छोराको कारण घर कलहको कारखाना जस्तो भएको छ ।

त्रिशूलीमा नदीमा हाम फाल्दा भाग्यले बाँचेकी गोमा!

गत जेठ ३ गते गोमाले आत्महत्या गर्न त्रिशूली नदीमा हाम फालिन् । तर, फुटबल खेल्दै गरेका स्थानीय युवाले गोमालाई बग्दै गरेको देखेपछि उनको उद्दार गरेका थिए ।

महिला आयोग र प्रहरीको काम गोमाको पीडा थाहा पाउने र रमिता हेर्ने मात्र!

गोमाले न्यायका लागि भन्दै यसअघि पटक–पटक प्रहरी र महिला आयोग, न्यायिक समितिमा उजुरी लिएर गइन् । तर, कतै सुनुवाइ भएन । अन्यायको सीमा पार हुन थालेपछि आफ्नो जीवन समाप्त पार्न उनले त्रिशुली नदीमा हाल फालेकी थिइन् ।

सडकमै गोमामाथि भएको यो हदसम्मको अत्याचारको सीसीटीभी फुटेजसमेत सार्वजनिक भइसक्दा समेत प्रहरीले बाबुछोरालाई नियन्त्रणमा राखेर कानूनी कारबाही प्रक्रिया अघि बढाउनु पर्नेमा मंगलबार बिहानै छाडेको छ ।

नारायणथान चौकीले देखाएको यो हर्कतले पनि यो देशमा न्याय पाउन सजिलो छैन भन्ने प्रष्ट्याएको छ ।भिडियो


Last Updated on: August 24th, 2022 at 3:22 pm

तपाईको प्रतिक्रिया