Ultimate magazine theme for WordPress.

एमाले अध्यक्ष केपी ओली चितवनमा

91

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन पुगेका छन् ।उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेपनि उनी साढे १ बजे भरतपुर विमानस्थलमा आइपुगेका हुन् ।

भरतपुर पुगेपछि ओली एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।सौराहाको होटल अर्थलाइटमा १५० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विज्ञहरुका बीच समाजवादको आधार निर्माण विषयको बहस हुने नेपाल बुद्धिजीवि परिषद्का सचिवालय सदस्य ईश्वरीप्रसाद कडरियाले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा ४ वटा कार्यपत्र पेश हुनेछ । ७ जनाले त्यसमाथि टिप्पणी गर्ने र अन्तिममा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको कडरियाले बताए ।एमालेले महाधिवेशनको तयारी करीब पूरा भएको जनाएको छ । शुक्रबार महाधिवेशनको उद्घाटन हुने भएकोले आज बिहीबार प्रतिनिधि र एमाले नेता-कार्यकर्ताहरू चितवन केन्द्रित भएका छन् ।

उद्घाटनको पूर्वसन्ध्यामा चितवन जिल्ला नै एमाले महाधिवेशनमय बनेको छ । पूर्वपश्चिम राजमार्गस्थित नारायणगढ, गैँडाकोट क्षेत्रलगायत चितवनका मुख्य बजार क्षेत्र, चोक, सडकहरूमा सूर्य अंकित झण्डा फहराइरहेका छन् । सडकमा गेट निर्माण गरिएको छ ।

सडकमा झण्डा बोकेका मोटरसाइकल र चारपाङ्ग्रे सवारी साधन गुडिरहेका छन् । ठाउँठाउँमा एमाले कार्यकर्ताको भीड लागेको छ । उद्घाटनस्थल नारायणी किनारमा मञ्च ठडिएको छ । नारायणी वारिपारि टाँगिएका झण्डा र ब्यानरले उक्त क्षेत्र र‌ंगिन बनेको छ।