Ultimate magazine theme for WordPress.

एमाले महाधिवेशन उद्घाटनमा प्रचण्ड नजाने, चार देशका विदेशी पाहुना सहभागी हुने

659

काठमाडौं– नेकपा एमालेको १०औं महाधिवेशन उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी नहुने भएका छन्। चितवनमा हुने एमाले महाधिवेशन उद्घाटन समाराेहमा प्रचण्ड नजाने उनको सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्ड पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन शुक्रबार काभ्रे जाने सचिवालयले जनाएको छ। माओवादीले प्रतिनिधिको रुपमा कुनै नेतालाई पठाउने/नपठाउने बिहीबार बेलुका मात्रै टुंगो लगाउने बताएको छ। केही दिनअघि एमाले नेता राजन भट्टराई खुमलटार पुगेर प्रचण्डलाई एमाले महाधिवेशनमा सहभागी हुन निम्तो दिएका थिए।

एमालेले नेकपा एकीकृत समाजवादी पार्टीलाई भने निम्ता नै गरेको छैन। एमालेको निमन्त्रणा स्वीकार गरी आठ वटा विदेशी पार्टीका १५ जना पाहुना उपस्थित हुने भएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा आज बिहीवार नेकपा (एमाले) विदेश मामिला विभागले काठमाण्डाैमा पत्रकार सम्मेलन गरी भारत, बङ्गलादेश, श्रीलङ्का र कम्बोडियाबाट आठ वटा पार्टीका १५ जना पाहुना महाधिवेशनमा उपस्थित हुने पक्का भएकाे बताएको हो ।

विदेशी पाहुनाहरूलाई काठमाण्डाैमा रहँदा होटल सोल्टीमा बसोवासको व्यवस्था गरिएको र मङ्सिर ९ गते (बिहीवार) बेलुकी एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले रात्रिभोजको आयोजना गरेका छन् ।