रात्रि क्लबमा मदिराले लठ्ठ युवतीहरूसँग ‘द्विअर्थी’ भिडियो बनाएर सार्वजनिक गरेको आरोपमा एक युट्युबर प्रहरी नियन्त्रणमा पुगेका छन् ।
अनुमतिविना धेरै युवतीको भिडियो बनाई युट्युबमा अपलोड गरेको उजुरी परेपछि प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका– ७ महादेवफाँटका २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो ।
अहिले उनी साइबर ब्यूरोको हिरासतमा छन् ।उपत्यकाकै व्यावसायिक घरानाकी एक युवतीले अनुमतिविना युट्युबमा भिडियो अपलोड गरेको आरोपमा उजुरी दिएपछि लामा प्रहरी हिरासतमा पुगेका हुन् ।
काठमाडौंको बानेश्वर घर भएकी एलिना (नाम परिर्वतन) नियमित रूपमा दरबारमार्गस्थित क्लब जाने गर्थिन् । व्यावसायिक घरानामा हुर्केकी एलिनालाई क्लब जानु सामान्य कुरा थियो ।
उनी एक दिन साथीहरूसँग ठमेलको एउटा क्लबमा गएकी थिइन् । उनले क्लबमा मादक पदार्थ सेवन पनि गरिन् । सामान्यभन्दा धेरै पिएकाले त्यस दिन उनी लठ्ठ थिइन् ।
क्लबबाट बाहिर निस्कँदै गर्दा राति २ बजे युट्युबर लामा ढोकामै थिए । उनले ‘बूम’ तेर्स्याइहाले । लठ्ठ भएकी उनी बोल्न त थालिन्, तर के–के बोलिन् त्यो दिन उनलाई पत्तै भएन । (प्रहरीलाई दिएको बयानका आधारमा)
उनलाई लागेको रहेछ, कुनै टेलिभिजन होला, नराम्रो सोधेन होला ।
उनले अन्तिममा ‘डन्ट पब्लिस दिस भिडियो’ भनेको प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छन् । उनले यदि हाल्ने भए ब्लर गरेर हाल समेत भनेको उजुरीमा उल्लेख छ ।
त्यसको २ दिनपछि साथीले ‘तैँले युट्युबमा जथाभावी बोलेकी रहिछस्’ भनेपछि उनी छाँगाबाट खसेजस्तै भइन् । त्यसपछि उनले साइबर ब्यूरो भोटाहिटीमा जाहेरी दिइन् ।
व्यावसायिक घरानाको सदस्य भएकाले प्रधानमन्त्री कार्यालयबाट प्रहरी प्रधान कार्यालय हुँदै ब्यूरोमा पनि उजुरी पुगेको थियो । उनले ‘हेलो सरकार’मा पनि गुनासो टिपाइन् ।
‘यो माथिल्लो निकायबाट पनि चासोका साथ हेरिएको मुद्दा हो,’ साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार खड्गीले लोकान्तरसँग भने, ‘त्यो भन्दा अगाडि नै हामीकहाँ जाहेरी आइसकेको थियो ।
युट्युबर लामाले आफ्नो च्यानलमा आकर्षक युवतीलाई लक्षित गरेर भिडियो बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लामाले आकर्षक युवतीहरूको भिडियो बनाएर अपलोड गर्दा धेरै भ्युज आउने भएकाले उनीहरूलाई लक्षित गरेको प्रहरीलाई बयान दिएका छन् ।
ब्यूरोका अनुसार उनले अश्लील अर्थ समेत लाग्ने द्विअर्थी प्रश्न सोधेर भिडियो बनाउने गरेका थिए । युवतीहरूले जवाफ दिए पनि नदिए पनि उनले भिडियो बनाएर युट्युबमा अपलोड गर्ने गरेका थिए ।
‘उनले युवतीहरूलाई अश्लील प्रश्नहरू सोध्ने र जवाफ दिएपनि, नदिएपनि युट्युबमा अपलोड गर्ने गरेको देखियो,’ इन्स्पेक्टर खड्गीले भने ।
प्रहरीका अनुसार रात्रिकालीन समयमा क्लब, डान्सबार र दोहोरी साँझमा आउने युवतीहरूलाई मदिराले मातेको मौकामा अश्लिल बोल्न लगाई भिडियो बनाउने क्रम बढेको छ ।
लामाले एकजना क्यामेरा पर्सनलाई खान र बस्न दिएर २० हजार तलबसहित राखेका थिए । दिउँसो सुत्ने र बेलुका डान्सबारको ढोकामा कुरेर युवतीहरूलाई अश्लील बोल्न लगाउने दैनिकी नै बनेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
होटलमा छिर्दै व्यापारी धम्क्याएर असुली
युट्युबर लामाले उपत्यका होटल व्यवसायीहरूलाई पनि दुःख दिने गरेको खुलेको छ । उनले विभिन्न होटलको किचनमा भएको फोहोर खिच्ने गरेका थिए ।
त्यसपछि उनी होटल व्यवसायीसँग पैसाको बार्गेनिङ गर्ने गर्थे । प्रहरीका अनुसार किचनको फोहर खिचेर पैसा नदिएमा उक्त भिडियो अपलोड गर्ने भन्दै व्यवसायीलाई धम्क्याउँथे ।
‘लामाले होटलमा छिरेर व्यवसायीलाई धम्काउने गरेको अनुसन्धानमा देखिएको छ,’ ब्यूरोका इन्स्पेक्टर राजकुमार खड्गीले लोकान्तरसँग भने, ‘त्यहाँबाट पैसा असुली गर्ने गरेको पनि देखिएको छ ।’
उनले अहिलेसम्म कति असुली गरेका छन् भन्ने नखुलेको प्रहरीको प्रहरीले जनाएको । अनुसन्धानकै क्रममा भएकाले विस्तृत रूपमा खुल्न बाँकी रहेको उनले बताए ।
‘युट्युबर पत्रकारभन्दा माथि हो भन्ने ठानेको थिएँ, प्रहरी खोरमा परें’
युट्युब च्यानल सञ्चालन गर्नुअघि उनी प्लम्बरको काम गर्थे । उनलाई बुबाले यूरोप पढ्न पठाएका थिए । त्यहाँ पनि उनी हंगामा मच्चाएर फर्किएको प्रवेशका बुवाले प्रहरीलाई बताएका छन् ।
‘जेनतेन गरेर युरोप पढ्न पठाएँ, त्यहाँ पनि के–के गर्यो, १३ लाख डुबाएर आयो हजुर, यसले हैरान पारेको थियो,’ बुवाको भनाइ उद्धृत गर्दै ब्यूरोका इन्स्पेक्टर खड्गीले लोकान्तरसँग भने ।
उनका बुवाले प्रहरीलाई बताएअनुसार प्रवेशले उपत्यकामा विभिन्न व्यवसाय गर्छु भन्दै परिवारसँग सधैँजसो पैसा माग्ने गरेका थिए । पैसाको निहुँमा परिवारमा लफडा पर्ने गरेको बुबाको दुःखेसो छ ।
प्रहरीसँगको बयानमा प्रवेशले रवि लामिछाने, भेलु बाजे लगायत युट्युबमा हिट भएकाले आफूले पनि हिट हुने आशमा युट्युब सञ्चालन गरेको बताएका छन् ।
‘युट्युबर पत्रकारभन्दा माथि हो भन्ने ठानेको थिएँ, तर होइन रहेछ,’ प्रवेशको भनाइ उदृत गर्दै ब्यूरोका एक अनुसन्धान अधिकारीले भने ।
उनले युट्युबाट छिटो हिट हुने, छिटो कमाइ पनि हुने भएकाले यो क्षेत्र रोजेको प्रहरीलाई बताएका छन् ।
साइबर ब्यूरोले उनलाई युट्युबमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने किसिमको भिडियो राखेको अभियोगमा विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गत अनुसन्धान गरिरहेको छ ।
असार २० गते पक्राउ परेका उनलाई ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।गगन अर्याल/लोकान्तर
Comment