शुक्रबार १४ आश्विन २०७९
एजेन्सी

मलेसिया- मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्षका लागि जेल चलान गरिएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका रजाकलाई दुई वर्ष पछि जेल चलान गरिएको हो ।

तर संघीय अदालतले उनको पुनरावेदन अस्वीकार गरेसँगै रजाक जेल जानु परेको बताइएको छ ।प्रधानन्यायाधीश तेङ्ग्कु मैमुन तुअन म्याटले रजाकको पुनरावेदन सर्वसम्मतिले खारेज गरिएको बताएकी हुन् ।

पुनरावेदन गरेपछि धरौटीमा जेलबाहिरै रहेका रजाकले फैसला पर सार्न अदालतसँग आग्रह गरेका थिए । तर उनको आग्रह पनि अस्वीकार भएको हो ।एक मलेसियाली अदालतले रजाकलाई सन् २०२० को जुलाईमा सम्पत्ति शुद्धीकरण, शक्तिको दुरुपयोग र भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।

उनले वान एमडीबीको पूर्वइकाइ एसआरसी इन्टरनेसनलबाट अवैध रूपमा ९४ लाख अमेरिकी डलर आफ्नो व्यक्तिगत खातामा सारेको फैसला गर्दै १२ वर्षको जेल सजाय सुनाएको थियो । जेल सजायसँगै अदालतले उनलाई ४ करोड ६० लाख ८० हजार अमेरिकी डलर जरिवानासमेत सुनाएको थियो ।

रजाकले आफ्नो खातामा आएको रकम सरकारी कोषको नभई साउदी शाही परिवारले चन्दा दिएको ठानेका उनका वकिलहरूले दाबी गरेका थिए । त्यसका साथै रजाकलाई आफ्ना आर्थिक सल्लाहकारहरूले गलत सल्लाह दिएको दाबी गरिएको थियो ।

रजाकका वकिलहरूले मुद्दाको पुनरावेदनका विषयमा निर्णय लिने विषयमा प्रधानन्यायाधीश संलग्न हुन नहुने माग गरेका थिए । प्रधानन्यायाधीश म्याटका पतिले सन् २०१८ मा सामाजिक सञ्जाल फेसबुकमार्फत रजाकको आलोचना गरेकाले उनले पक्षपातपूर्ण निर्णय लिन सक्ने दाबी गरिएको थियो ।

तर म्याटले फेसबुकको पोस्ट मुद्दा दायर गरिनुअघिको भएको भन्दै उक्त आग्रह अस्वीकार गरेकी थिइन् ।अभियोजनकर्ताहरूले रजाक सहसंस्थापक रहेको वान एमडीबीबाट ४ अर्ब ५० करोड अमेरिकी डलर हिनामिना गरिएको दाबी गरेका थिए । त्यसमध्ये एक अर्ब अमेरिकी डलर रजाकको खातामा भेटिएको भन्दै उनीहरूले प्रमाण पेस गरेका थिए ।

नजिबकी पत्नी रोसमाह मान्सोरलाई समेत सम्पत्ति शुद्धीकरण र कर छलीको आरोप लागेको छ । उनले भने आफू निर्दोष रहेको बताउँदै आएकी छन् । उनको मुद्दामा उच्च अदालतले सेप्टेम्बर १ मा फैसला सुनाउने जनाइएको छ ।


Last Updated on: August 24th, 2022 at 3:53 pm

तपाईको प्रतिक्रिया