मंगलबार १८ आश्विन २०७९

काठमाण्डाै – निर्माता एवम् अभिनेता दीपकराज गिरीले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहकाे अनधिकृत संरचना हटाउने अभियानलाई साथ दिएका छन् ।

आज बुधवार सामाजिक सञ्जालमार्फत गिरिले भोट घट्ला भनेर बाटोमा टाँसेर बनेका पर्खाल, घरलाई छुनसमेत नसक्ने मेयरहरूले बालेन्द्र र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबाट सिक्नुपर्ने बताएका हुन् । उनले लेखेका छन्, बालेन जे गर्दैछन्, बाबुरामले जे गरे, भोट घट्ला भनेर बाटोमा टाँसेर बनेका पर्खाल, घरहरूलाई छुनसमेत नसक्ने मेयरहरूले केही सिक्छन् कि ?

अहिले काठमाण्डाैका मेयरले अनधिकृत संरचना हटाउने कामलाई अभियानकै रूपमा सुरु गरेका छन् । अस्ति साेमवार नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्डमा राखिएका पसल र संरचना हटाएर पार्किङ गर्ने ठाउँ बनाउने अभियान सुरु गरेको महानगरले आज बुधवार न्युरोड क्षेत्रका संरचना हटाएको छ ।

यस्तै बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाण्डाैकाे सडक विस्तार भएकाे थियाे । उता काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले कांग्रेस नेता प्रकाशमान सिंहले जित्ने माहोल बनाउन काठमाडौंमा संरचना भत्काउन थालिएको बताएका छन्।

स्थापितले प्रकाशमानको माहोल बनाउन प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ अघिअघि लाग्ने र काठमाडौंका मेयर पछि लाग्ने भइरहेको बताए। उनले बानेश्वर प्लाजाको संरचना भत्काएर र नर्भिक अस्पतालका संरचना हटाउन खोजेर प्रकाशमानका लागि माहोल बनाएको आरोप लगाएका हुन्।

‘बानेश्वर, थापाथली भनेको प्रकाशमानको क्षेत्र हो,’ स्थापित भन्छन्, ‘दीपेन्द्रले जहाँ जहाँ भन्यो त्यहाँ भत्काउँदै हिँडेको छ। काठमाडौंमा यस्तो बनाउँछु, यसरी गर्छु भनेर प्लानिङसहित हल्ला गर्दै हिँडेको छ।’स्थापितले दीपेन्द्रले आगामी चुनावका लागि तयारी गरेकोले आफूलाई फाइदा पुग्नेगरी संरचना भत्काउन थालेको बताए।

‘दीर्घकालिन गर्ने भनेर गरेको छैन। नेपाली कांग्रेसको प्रवक्ता बनाएको छ। स्वतन्त्र मेयरको प्रवक्ता कांग्रेसको कसरी हुन्छ? धनपतिलाई किन हटाएको?,’ स्थापितले प्रश्न गरे। उनले बालेन्द्र शाहका गतिविधिले एउटा पार्टीको सेवा मात्रै गरेको बताए।

बानेश्वरमा दीपेन्द्र श्रेष्ठ बालेन्द्रको अघिपछि लागिरहेकोमा उनले आशंकाले हेरेका छन्। ‘यो क्षेत्रमा प्रकाशमान आउने कि भनेर गरिएको प्रचार हो। भोट माग्न सजिलो होला भनेर गरेको हो। यो कुनै लङटर्मको लागि भएको होइन,’ उनले भने।


Last Updated on: August 24th, 2022 at 6:10 pm

तपाईको प्रतिक्रिया