Ultimate magazine theme for WordPress.

एमाले महाधिवेशन उद्घाटन आज १२ बजे: नारायणी किनारमा बिहानैदेखि चहलपहल

27

नेकपा एमलेको दसौं राष्ट्रिय महाधिवेशन आज (शुक्रबार) हुँदै छ। त्यसका लागि एमालेका नेता÷कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधि उद्घाटनस्थल चितवनको नारायणी नदी किनारमा भेला हुन थालेका छन्।

बिहानैदेखि नेताहरू उद्घाटन स्थलमा पुगिरहेका छन्। अहिले नारायणी किनारस्थित कार्यक्रमस्थलमा ५ हजारजति मानिस जम्मा भइसकेको एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघका सचिव दीपक न्यौपानेले जानकारी दिए। स्कुल र कलेज अघोषित रूपमा बन्द गराइएको छ।

सवारीसाधन आवतजावत पनि रोकिएको छ। स्कुल र कलेजका विद्यार्थीलाई अनिवार्य कार्यक्रममा उपस्थित गराउन हिजैदेखि निर्देशन दिइएको एक नेताले बताए। धुलो उड्न नदिन ट्याङ्करले पानी खन्न्याउने काम भइरहेको छ। उद्घाटन मध्याह्न १२ बजे हुनेछ। त्यसअघि चितवनस्थित पोखरा बसपार्क र भरतपुर विमानस्थलबाट जुलुस निकालिनेछ।

यस्तै नवलपरासीको गैंडाकोटबाट पनि उद्घाटन स्थलमा जुलुस जाने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। स्वास्थ्यका कारण अध्यक्ष केपी ओलीलाइ भने गाडीबाटै कार्यक्रमस्थल पुर्‍याइनेछ। ओली बिहीबारदेखि सौराहामा रहेको पार्क सफारी रिसोर्टमा छन्।