Ultimate magazine theme for WordPress.

भोट नदिनू भन्दै पर्चा बाँडिनु अनौठो होइन, हामीले गर्न लगाएका हौंः शंकर पोखरेल

464

काठमााडौं– एमालेका नव निर्वाचित महासचिव शंकर पोखरेलले मतदान स्थलमा आचारसंहिता विपरीत वितरण गरिएको पत्रको बचाउ गरेका छन्। उनले बन्दसत्र हलमा पेस भएको सर्वसम्बत पत्र नै बाँडिएकाले यसलाई गलत भन्न नहुने दाबी गरे।

उनले त्यो पार्टीको औपचारिक प्रस्ताव अनुसारकै भएकोसमेत बताएका छन् ।‘अध्यक्षमण्डलका तर्फबाट जारी भएको सूची नै एकताको सूची हो,’ उनले भने, ‘त्यही बाँडिएको हो अन्य पर्चा बाँडिएको छैन।’ प्रचार अरुले पनि गरेको भन्दै उनले यो अनौठो कुरा नभएको दाबी गरे।

भीम रावल पक्षले पनि आफूहरुको प्रचार गरेको भन्दै उनले यो म्यान्डेड पाएको सूची भएका दाबी गरे। प्रतिनिधिहरुले सहमति होस् भन्ने चाहाना राखेर म्यान्डेड दिए पनि कतिपय कमरेडहरुले नमानेकाले निर्वाचन भएको उनले दाबी गरे। उता महाधिवशेनमा जारी मतदानको क्रममा केपी ओली पक्षले बाँडेको ‘मत नहाल्ने’ सूचीप्रति भीम रावलले निन्दा व्यक्त गरेका छन्।

रावल अध्यक्षका उम्मेदवार हुन्। ओलीले बन्दसत्रमा पेश गरेको सूचीभन्दा बाहिरका उम्मेदवारलाई मत नहाल्ने ओली पक्षका नेता तथा कार्यकर्ताले सूचीमा नाम लेखेर पर्चाको रुपमा वितरण गरेका हुन्। त्यसले दुई पक्षबीच विवाद निम्त्याएको छ। ‘चितवनमा एमालेको मतदान सुरू

भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचारसंहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु’, रावलले ट्विटरमा लेखेका छन्, ‘उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ।‘

उनले पर्चा बाँड्ने काम रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको बताएका छन्। बाँडिएको पर्चामा पदाधिकारीका उम्मेदवार रावल, घनश्याम भुसाल, टंक कार्की, भीम आचार्य लगायत केन्द्रीय कमिटी सदस्यका उम्मेदवार भएकाहरुको नाम तोकेर मत नहाल्न भनिएको छ।

बिहान ४ बजेपछि विभिन्न दश समूहका उम्मेदवारबीच निर्वाचन भइरहेको छ। ६९ वटा भोटिङ मेसिनमा भइरहेको मतदान ११ बजेतिर सकिने केन्द्रीय निर्वाचन आयोगको आकलन छ।