Monday, August 15

एसइईको नतिजा बारे राष्ट्रिय परीक्षा बोर्डको यस्तो छ पछिल्लो अपडेट

July 13, 2022

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित गर्ने समय सारेको छ।

बोर्डले आगामी साउन पहिलो हप्ता मात्रै नतिजा प्रकाशन गर्न सकिने जनाएको हो। बोर्डले यसअघि यही असार मसान्तभित्र एसइई नतिजा प्रकाशित गर्ने जनाएको थियो।

सबै प्रकृया पूरा नभएकाले नतिजा प्रकाशन गर्ने समय सरेको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो ।

‘हामीले नतिजा यही असार मसान्तभित्रै प्रकाशित गर्ने भनेका थियौँ, तर समयमा उत्तर पुस्तिका ल्याउन ढिला भयो, अरु विविध कारणले पनि प्रकाशित गर्न सकेनौँ’, उहाँले भन्नुभयो‚‘अब साउन पहिलो हप्ताभित्र प्रकाशित गर्छौ।’

एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्।

यसअघिका दुई वर्ष कोभिड–१९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो।

Comment