बुधबार १९ आश्विन २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनमा आफ्नो पार्टी आगामी निर्वाचनको लागि १०० सिट भन्दा तल नझर्ने अडान लिएका छन् ।

सत्ता गठबन्धनको बैठकमा आक्रामक रुपमा प्रस्तुत हुने गरेका थापाले सत्ता गठबन्धनमा आवद्ध अन्य दलले कांग्रेससँग बार्गेनिङ गरेको भन्दै आफ्नो पार्टीले १०० सिटभन्दा एक सिट पनि तल झरेर भागबण्डा नगर्ने अडान प्रस्तुत गरेको स्रोतको दाबी छ ।

पछिल्लो समय गठबन्धनमा आवद्ध अन्य दलका नेताहरुले भने ६०/४० को रेसियोमा जानुपर्ने अडान लिएका छन् । तर, थापाले भने कांग्रेस कमजोर हुनेगरि गठबन्धन नगर्ने र आफूहरुसँग बार्गेनिङ गरिरहे गठबन्धन नै टुट्नसक्ने चेतावनी दिएका छन् ।

सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँडमा ०७४ को सिटअनुसार गर्नेबारे सहमति हुन लागेको चर्चा छ । सत्ता गठबन्धनको महत्वपूर्ण घटक नेकपा (माओवादी केन्द्र) ले कांग्रेससँग सिटमा बार्गेनिङ गरिरहेको कांग्रेस नेताहरुको आरोप छ ।

यस्तो अवस्थामा थापाले अन्य दलले सिटमा बार्गेनिङ गरिरहे गठबन्धन नै टुट्नसक्ने चेतावनी दिएका हुन् ।उता आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले सुदूरपश्चिम प्रदेश कार्यसमितिले सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ।

३२ ओटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यलाई प्रतिनिधिको रूपमा खटाएको कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्न प्रतिनिधि खटाएको कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बताए।


Last Updated on: August 24th, 2022 at 10:33 pm

तपाईको प्रतिक्रिया