सरकारी कार्यालयमा खसी काटेर रक्सि पाटि , फोटो खिच्न गएका पत्रकारको मोबाइल खोसेर रामधुलाई – Gandaki Chhadke
Friday, August 12

सरकारी कार्यालयमा खसी काटेर रक्सि पाटि , फोटो खिच्न गएका पत्रकारको मोबाइल खोसेर रामधुलाई

July 16, 2022

चितवनको भरतपुरस्थित नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा शुक्रबार खसी काटेर दिनभर जाँडपाटी गरिएको छ । कार्यालय समयमै कार्यालय प्रमुख राजिव कुमार सिंहसहित कर्मचारी र केही बाहिरका मान्छे समेत सहभागि गराएर जाँडपार्टी गरिएको हो ।

शुक्रबार कार्यालयले मर्मतका लागि भन्दै नारायणगढ लगायतका क्षेत्रमा लाइन काटेको थियो । दिनभर लाइन काटिदा गर्मीका कारण नागरिकले सास्ती पाएका थिए । शुक्रबार भरतपुरको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस रहेको थियो । तर विद्युतका कर्मचारी लाइन छिटो दिने भन्दापनि दिनभर खसी काटेर जाँडपाटी गर्नमै व्यस्त थिए । असार मसान्तको क्लोजिङ भन्दै पार्टी गरिएको कार्यलय प्रमुख सिंहले बताए ।

कार्यालय समयमा कार्यालय भित्रै रक्सी पार्टी भएको जानकारी पाएर फोटो खिच्न र समाचार संकलनका लागि पुगेका नारायणी अनलाइनका सम्पादक तथा संचारपत्र दैनिकका प्रकाशक कृष्ण आचार्यलाई रक्सीले मातेका कर्मचारीले कुटिपिट र दुव्र्यवहार गरेका छन् ।

उनीहरुले आचार्यसंग रहेका दुईवटा मोवाइल खोसेका छन् भने जाँड पाटीको फुटेज र फोटो डिलिट गरेका छन् । कार्यालयभित्र हामी राजा हो भन्दै एक्कासी फोटो र भिडियो किन खिचेको भन्दै आक्रमणमा उत्रिएको सम्पादक आचार्यले बताउनुभयो । उहाँले आफु ७/८ जना जाँडले मातिएका कर्मचारीले कुटपिट गर्दापनि भागेर ज्यान जोगाउन सफल भएको बताउनुभयो ।

कार्यालय प्रमुखकै निर्देशनमा कार्यालयको मुख्य गेट नै लगाएर कुटपिट गरिएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,‘कार्यालय प्रमुख सिंहको नेतृत्वमै घटना भएको छ, उनले नै आक्रमण गर्न निर्देशन दिएका हुन् ।’ सबै कर्मचारी रक्सीको मातमा रहेका कारण कसैले पनि अक्रमण र दुव्र्यवहारको विरोधमा नबोलेको आचार्यले बताउनुभयो ।

कर्मचारीले कार्यालयको मुख्य गेट बाहिरसम्म लखटेका थिए । आचार्यले कार्यालय नजिकै रहेको चितवनपोष्ट दैनिकको कार्यालयमा गएर आफुले ज्यान बचाएको बताउनुभयो । सम्पादक आचार्यको टिसर्ट च्यातिएको छ भने शरीरका विभिन्न ठाँउमा चोट लागेको छ ।

घटनापश्चात कार्यालयमा नेपाल पत्रकार महासंघको टोली प्रहरीसहित कार्यालयमा पुगेको थियो । तर त्यतिबेला जाँड खाएका सबै कर्मचारी भागेका थिए भने नखाएका केही मात्र कार्यालयमा देखिन्थे । उनिहरुले रक्सीका बोतल र खाएका पिलेट नजिकैको झाडीमा फालेको भेटिएको थियो ।

सम्पादक आचार्यलाई दुव्र्यवहार गरेका ठाँउमा रक्सी र खानेकुरा पोखिएको छ ।कार्यालयको दिनभरको सिसिटिभी समेत डिलिट गरिएको छ । यसै घटनालाई लिएर सम्पादक आचार्यले घटनाको दोषी पत्ता लगाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसमक्ष उजुरी दिनुभएको छ ।

यसबीच घटनामा संलग्न एक जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । राती ११ बजे एक कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दिउँसै कार्यालयमा खसी काटेर जाँडपार्टी गर्ने कार्यालय प्रमुखसहितका कर्मचारीलाई नियन्त्रणका लिएर कारवाही गर्न माग चितवनका पत्रकारले गरेका छन् ।

उनीहरुले राती अबेरसम्म जिल्ला प्रहरी कार्यालय चितवनमा धर्ना दिएर घटनामा संलग्न कार्यालय प्रमुखसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेका छन् । कार्यालयका प्रमुख सिंहले यसअघि पनि कार्यालय समयमै जाँड पार्टी गर्ने र विचौलीयासंग मिलेर भरतपुरमा लोडसेडिङ गर्ने गरेको गुनासो आउने गरेको थियो ।

Comment