आइतबार १६ आश्विन २०७९

काठमाडौं । दोस्रो पटक नागरिकता विधेयक प्रमाणीकरणका लागि आफूकहाँ आइपुग्नु अगावै राजीनामाको तयारीमा रहेको चर्चा चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले आज वर्तमान सेनापति सहित पूर्वजर्नेलहरुसँग सामूहिक भेटवार्ता र रात्रीभोज गर्नुभएको छ ।

राष्ट्रपतिको निम्तो मान्न पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा,प्यारजङ्ग थापा,पूर्व तीनतारे बलदेवराज महत,शरद गिरी,फत्येबहादुर लिम्बू,नेपालभुषण चन्द,पवन पाण्डे,अमर पन्त, पूर्वउपरथी हरिबहादुर बस्नेत लगायत १ देखि ४ तारेसम्मका पूर्वजर्नेलहरु शीतल निवास पुगेका थिए ।

दिउँसो साढे ३ बजे शीतल निवास पुगेका करिब पाँच दर्जन बहालवाला र पूर्वजर्नेलहरुसँग राष्ट्रपति भण्डारीले साँझसम्मै कुराकानी गर्नुभयो । नागरिकता विधेयकमा पाँचदलीय गठबन्धनसँग टसल परिरहेका बेला विभिन्न सरोकारवालासँग छलफल गरिरहनुभएकी राष्ट्रपतिले सैनिक नेतृत्वसँग सामूहिक छलफल गर्नुको कारणबारे औपचारिक जानकारी भने आइसकेको छैन ।

तर, उहाँले जर्नेलहरुलाई ‘धन्यवाद’ दिएकाले उहाँले पद छोड्ने तयारीको संकेत पाएको सहभागी एक पूर्वजर्नेलले बताएका छन् । यद्यपि उहाँको राजीनामा आउने सम्भावना भने ५% मात्रै रहेको जानकार श्रोतहरुले बताए ।

सेनाको परमाधिपतिसमेत रहेकाले राष्ट्रपतिले बहालवाल र पूर्वजर्नेलहरुसँग गरेको सामूहिक भेटघाटलाई कुनै कदम चाल्ने पूर्व संकेतका रुपमा धेरैले अर्थ्याएका छन् । साथै उहाँ राष्ट्रपति हुनुपूर्व उपाध्यक्ष रहेको पार्टी एमालेकै कतिपय नेताहरुले समेत राजीनामा दिएर राजनीतिमा सक्रिय हुन सुझाव दिएको कुरा पनि आइरहेको छ ।

विगतमा आफूले चालेका कतिपय कदमका कारण चर्को आलोचना खेप्नु परेपनि अहिले नागरिकता विधेयकमा अडान राख्दा राष्ट्रहितको पक्षमा अडान राखेको आमसन्देश जाने र अन्तत: त्यसले पार्टी राजनीतिमा पनि सहयोग पुग्ने विश्वासले राष्ट्रपतिले पद छोड्ने उपयुक्त मौकाका रुपमा लिनुभएको कतिपयको बुझाइ छ ।

अर्कोतिर पाँच दलीय गठबन्धनविरुद्ध एक्लै चुनावमा जाँदा ‘समस्या’ पर्ने देखेका एमाले नेताहरुले यतिबेलै राष्ट्रपतिलाई राजीनामा गराएर पार्टीको उद्धार गराउने रणनीति बनाएको जानकारहरुको दावी छ ।


Last Updated on: August 24th, 2022 at 10:45 pm

तपाईको प्रतिक्रिया