
काठमाडौँ । काठमाडौं महानगरपालिकाले कोटेश्वरमा अवैधानिक तरिकाले सडक अतिक्रमण गरेर सञ्चालन गरिएका पसलहरू हटाउने तयारी गरेको छ ।
बानेश्वर, न्युरोड, दरबारमार्ग क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउँदै गरेको महानगरले बिहीबारदेखि कोटेश्वरमा अनधिकृत रुपमा रहेका संरचना भत्काउने भएको हो ।
मेयर बालेन्द्र शाहसहितको टोलीले बुधबार न्युरोडको काठमाडौं प्लाजा, आर बी कम्प्लेक्समा निर्माण गरिएका अनधिकृत संरचना हटाएको थियो ।
यस्तै दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा लिएर निर्माण गरिएको वान दरबार मलमा पनि अनधिकृत रुपमा संरचना बनाएको पाइएको छ । सो मलको बेसमेन्टमा रेस्टुरेन्ट तथा अन्य पसलहरू सञ्चालन भएको पाएपछि महानगरको टोलीले हटाउन निर्देशन दिएको थियो।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अवैधानिक तरिकाले बनाइएका संरचना र एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएको पाइएपछि हटाउन थालिएको बताए ।
उनले कान्तिपुरिसत भने, ‘हामीले ३५ दिने सूचना निकालेका छौं । कमिटमेन्ट अनुसारको नक्सा पास गरेको नक्सा छ अनि अर्को प्रयोजनका लागि प्रयोग गर्न मिलेन नि !’ पाण्डेले यस्ता संरचनामा घरधनीहरूको गल्ती धेरै देखिएको बताए ।