बुधबार १९ आश्विन २०७९

काठमाडौँ । सबैतिरबाट आएको प्रशंसा र वाही वाहीबाट धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मात्तिन थालेका छन् । उनले आफ्नो पदीय मर्यादालाई नै भुलेर स्टाटस लेख्न थालेपछि समर्थकहरूले मेयर हर्क मात्तिन थालेको भन्दै संयमित हुन सुझाइरहेका आउन थालेको छ ।

मेयर साम्पाङले सामाजिक सञ्जालमा एकपछि अर्को विवादित अभिव्यक्ति दिन थालेका छन् । काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध खनिएका साम्पाङले आज फरक विषयमा विवादित टिप्पणी गर्न भ्याएका छन् ।

आफ्नो अफिसियल फेसबुकमा स्टाटस लेख्दै उनले धरानमा श्रमदान नगर्ने विद्यार्थीहरू परीक्षामा उत्तीर्ण नहुने नियम लागू गर्ने घोषणा गरेका छन् ।मेयर साम्पाङले भनेका छन्, ‘धरानको विकासका लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागू गरिने छ ।’

उनले श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न नखोजेको पनि बताएका छन् । विद्यार्थीको सहभागिता प्रतिकात्मक हुने उनको भनाइ छ । आफ्नो स्टाटसको आलोचना भएपछि साम्पाङले फेरि अर्को पूरक स्टाटस लेखेका छन् । त्यसमा उनले कक्षा ९, १०, ११ र १२ मा पढ्ने विद्यार्थीले वर्षमा ७ दिन सकेको श्रम गर्नुपर्ने उनले बताए । त्यो श्रम सरसफाइ, वृक्षारोपणलगायत जे पनि हुन सक्ने उनको जोड रहेको छ ।

‘म विद्यार्थीलाई यो देशको माटोसँग जोड्न चाहन्छु । यो देशको माटो छुन प्रेरित गर्न चाहन्छु । पढेर मात्रै हुँदैन । कुर्सीमा बसेर सुकिलो मुकिलो भएर मात्रै देश बन्दैन । आज आलु, प्याजदेखि लिएर लसुन लगायत सानातिना कुराहरु करोडौं, अरबौं, खरबौं भारतबाट आयात गरेर खानु परिरहेको छ । पढेलेखेको मान्छेले धुलो, हिलो, माटो छुनु नहुने सोचिरहेका छौं । त्यो गलत हो ।’ उनले भनेका छन् ।

उनले भनेका छन् , ‘मैले के भन्न खोज्दैछु भने हाम्रो कृषिप्रधान देश भनिन्छ, तर खोइ कृषि गरेको रु जग्गा बेचेर घर मात्रै बनाउने ? एउटा खुर्सानी फलाउन सक्दैनौं । एउटा सानो कुरा बनाउन आउँदैन । मकै देखेको छैनन् अहिलेका विद्यार्थीले । धानको विरुवा देखेको छैन । कोदोको विरुवा देखेको छैन । नयाँ पिँढीले के खाएर बाँच्ने ? खरबौंको अनाज, फलफुल भित्र्याउनुको साटो पाखाभित्तामा विद्यार्थी पनि आएर विरुवा पनि रोप्दा के हुन्छ ?

दुई–चार जना भनिरहेका छन्, बालबालिकालाई यतायता गराउने ? त्यस्तो भनेको होइन मैले । श्रम चिनाउनुपर्छ र श्रमको महत्व बुझाउनुपर्छ । त्यो बुझेन भने मान्छे अल्छी हुन्छन् । भोलिका दिनमा विकराल अवस्था हुन्छ । विरोधिले विरोध गरिराख्नुस । तपाईंहरुको विरोधले मलाई केही हुनेवाला छैन । यस्तो विरोध त मैले कति खाएँ । ठाडो खाएर तेर्सो हगेको हो तपाईंहरुजस्ता मान्छेहरुलाई । यसोभन्दा ट्रोल हुने होला, भइराखोस् ।

१० वर्ष एक्लै–एक्लै आन्दोलन गरेँ । यस्ता झ्यासलाई टेर्छु म ? टेर्दिनँ । विरोधीले विरोध गर्दै गर्नुस् । समर्थक बढिरहेकै छन् । पहिले विरोध गर्नेहरू अहिले छेउछेउमा से्ल्फी खिच्न आउँछन् ।

नेपालको कानुनले बाल श्रमलाई निषेध गरेको छ । १४ वर्षसम्मको बालबालिकालाई कुनै पनि किसिमको काममा लगाउने नपाइने तथा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाउने व्यवस्था बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ मा उल्लेख गरिएको छ ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्मा श्रम नगर्ने विद्यार्थीलाई कक्षामा उत्तीर्ण नगराउने भनी साम्पाङले दिएको अभिव्यक्ति गैर जिम्मेवार र गैर कानुनी भएको जनाएका छन् ।

‘कानुनले बालश्रमलाई निषेध गरेको छ । प्रतिकात्मक नै किन नहोस्, कुनै पनि खालको श्रममा संलग्न नभएकै कारण विद्यार्थीलाई फेल गराउँछु भन्ने कानुन विपरीतको कुरा हो,’ उनले भने ।


Last Updated on: August 24th, 2022 at 11:27 pm

तपाईको प्रतिक्रिया