बुधबार १९ आश्विन २०७९

काठमाडौँ – काठमाडौँको सडकको मुहार फेर्न फिल्मी शैलीमा एक्सनमा उत्रिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अर्को ठुलो घोषणा गरेका छन् ।

अनधिकृत रूपमा बनाइएका संरचनाहरू भत्काउन सुरु गरेका बालेनले सोही विषयलाई जोडेर अर्को घोषणा गरेका छन् ।महानगरको कदमले विचल्लीमा परेका भाडावालहरुलाई राहत हुनेगरी बालेनले घोषणा गरेका हुन् ।

काठमाडौं महानगरपालिका मेयर साहले भाडावालहरूलाई अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति भराउन महानगरले हदैसम्मको पहल गर्ने बताएका छन्। ‘अनधिकृत संरचनाहरूका भाडावालहरूलाई पर्न गएको असुविधाप्रति हामी दुःख व्यक्त गर्दछौं ।

’मेयर साहले भनेका छन्, ‘त्यस्ता संरचनाहरू भाडामा लगाएर भाडावाललाई आर्थिक क्षति पुर्याए बापत हुन सक्ने कानूनी कारबाही खोजी गरेर अनधिकृत संरचनाका मालिकहरूबाट क्षतिपूर्ति गराउनेतर्फ महानगरले हदैसम्मको पहल गर्ने विश्वास दिलाउन चाहन्छौं।’

उनी भन्छन्, ‘हामीले एक्कासी अनधिकृत संरचनाहरु भत्काउन सुरु गरेका होइनौँ, ३५ दिने सूचना जारी गरेका थियौँ। तर, सो अवधिमा कुनै पनि किसिमका छलफल, सरसल्लाहमा लागि कोही पनि सम्पर्कमा नआउनु भएको तितो अनुभव हामीसँग छ।’

अनधिकृत संरचनाहरुप्रतिको महानगरको अनुगमनलगायतका गतिविधि सधैँ रहने उनले बताएका छन्।

उनी भन्छन्, ‘यसैले हामी अनुरोध गर्दछौँ कि अनधिकृत संरचनाहरु नबनाइयोस्, बनाएका अनधिकृत संरचनाहरु आफैले भत्काउनुहोस्। यसका साथै त्यस्ता संरचनाहरु भाडामा लगाउने नगरियोस्।’

अनधिकृत संरचनाहरुका भाडावालहरुलाई पर्न गएको असुविधाप्रति उनले दुःख व्यक्त गरेका छन्।


Last Updated on: August 25th, 2022 at 11:03 am

तपाईको प्रतिक्रिया