शुक्रबार १४ आश्विन २०७९

ग्राभेल सडक नै ढाकिनेगरी रंगीचंगी टेन्ट । भित्र छरपस्ट प्लास्टिकका कुर्सी । परबाट हेर्दा बिहे वा धार्मिक समारोहजस्तो । टेन्टछेवै उत्तरपट्टि केही मानिस लाइनमा उभिइरहेका छन् ।

पालैपालो घाँटीमा ‘राम नाम’ लेखिएको पहेंलो गम्छा भिरेर कुर्सीमा बसिरहेका अधबैंसे पुरुषछेउ पुग्छन् । प्रतिव्यक्ति १५ रुपैयाँ तिरेर टोकन लिन्छन् । छेवैको पसलमा पुगेर दिन्छन् अनि जस्ताको छाना हालिएको घरभित्र छिर्छन् ।भित्रको पूजा कोठाजस्तो देखिने ठाउँमा एक पुजारी महिला बसेकी छन् ।

हातमा रुद्राक्षको माला लिएकी उनी टोकन लिएर भित्र छिरेकी एक महिलासँग एकछिन कुरा गर्छिन्, त्यसपछि महिला उत्तानो परेर सुत्छिन् । पेटको भागको कपडा हटाउँदै पुजारी महिला मुख लगेर चुस्न थाल्छिन् । केहीबेरमा सानो ढुंगा निकालेझैं गरेर सबैलाई देखाउँछिन् ।

विराटनगरसँगै जोडिएको जहदा गाउँपालिका–४ सोहल टोलकी ४५ वर्षीया परनीदेवी मण्डलको घरको दृश्य हो यो । उनलाई स्थानीय ‘माता’ भनेर चिन्छन् । पुजारी बताउने उनले मुखले चुसेर पेटबाट पत्थरी निकालिदिने दाबी गर्छिन् । उनको दाबीमा भर परेर दैनिक दर्जनौं मानिस यहाँ आउँछन् ।

दैनिक दुई सयभन्दा बढी बिरामीको शरीरभित्रको ढुंगा चुसेर निकाल्ने परनीको दाबी छ ।कथित माता बताउने उनले चमत्कारको भ्रम फैलाएर वर्षौंदेखि बिरामीको स्वास्थ्यमाथि खेलबाड गरिरहे पनि स्थानीय निकाय मौन देखिन्छ । प्रदेश राजधानी छेउकै एउटा गाउँमा चलिरहेको अन्धविश्वासको यस्तो पसलका ग्राहक प्रदेश १, मधेस र भारतको विहारसम्म फैलिँदा पनि नियामक निकाय बेखबर देखिन्छन् ।

सरोकारवाला निकायको मौनताकै कारण अन्धविश्वासको यो खबर फैलिरहेको छ ।सप्तरीको खडग नगरपालिका–४ पन्सेराका ४५ वर्षीय देवनारायण चौधरीलाई केही समयअघि पेट दुख्ने समस्या देखियो । लहानमा उपचार गराउँदा चिकित्सकले पित्तथैलीमा ४ एमएमको ढुंगा रहेको बताए ।

‘शल्यक्रियाका लागि रकमको जोहो गर्न थालें,’ उनले भने, ‘त्यही क्रममा गाउँकै एक जनाले माताले चुसेर पत्थरी निकालेपछि निको हुने सुनाएपछि यहाँ आयौं ।’ पहिलो पटक साउन २४ मा ‘माता’कहाँ आफू आएको र उनले चुसेर पत्थर निकालिदिएको देवनारायणले सुनाए ।

‘माताले पुनः जडिबुटी खान दिनुभएको छ । १५ दिनपछि भिडियो एक्सरे गरेर हेर्न भन्नुभएको छ ।’ यहाँ १५ रुपैयाँका दरले दुई टिकट किनेको र ८०/८० रुपैयाँको प्रसाद किनेर चढाएको उनले सुनाए ।भारत विहारको अररिया जिल्ला ग्रामपञ्चायत लक्ष्मीपुर–१ का मथुरानन्द मण्डल पनि यहीँ भेटिए ।

छोरीहरू रुक्मिनीदेवी र पिंकीदेवीको पेटमा रहेको ढुंगा झिक्न र निःसन्तान एउटी छोरीको झारफुक गराउन आएको उनले बताए । ‘माताले दुवैको पत्थरी निकालिदिनुभयो र जेठी छोरीको सन्तान प्राप्तिका लागि झारफुक गरेर ग्रह काटिदिनुभयो,’ उनले भने ।

परनीदेवीका भाइ देवनारायणले यहाँ पत्थरीलगायतका रोगको उपचारका साथै झारफुक, मन्त्रद्वारा शरीर र घडेरी बाँध्नुका साथै ग्रह कटाउन दैनिक २ सय बढी मानिस आउने गरेको दाबी गरे । परनीका पति भटनका अनुसार कोरोना महामारीका बेला बन्द गरेको सेवा फेरि सुरु भएको हो ।

‘कुनै किसिमको शुल्क नतोके पनि भक्तजनको स्वैच्छिक चढावाबाट परिवार चलिरहेको छ,’ उनले भने । कान्तिपुरकर्मी पुगेको दिन अधिकांशले प्रसादसँगै सामर्थ्यअनुसार ५ सयदेखि १५ सय रुपैयाँसम्म चढाएका थिए ।ऐलानी जग्गामा बसोबास गरिरहेको मण्डल परिवारमा तीन छोरा छन् ।

उनका छिमेकीहरू भने यस्तो अन्धविश्वासले गाउँकै बेइज्जत भइरहेको बताए । ‘माताको विरोध गर्दा अधार्मिक र नास्तिक भनिने डर छ,’ एक छिमेकीले भने, ‘कोही खुलेर बोल्न सक्दैनन्, तर अन्धविश्वास चलिरहेको छ ।’कथित माताले धेरैजसोलाई दुग्धिका, पथरचट्टा र नागफनी नामक जडिबुटी दिएको देखिन्छ ।

यी जडिबुटीको गुण र दोषबारे उनी नै जानकार देखिन्नन् । कान्तिपुरको अवलोकनमा उनले क्यान्सर, छारेरोग र पक्षघातबाहेक सबै खालका बिरामीलाई यही दिएर पठाइन् । जिल्ला आयुर्वेद अस्पताल मोरङका प्रमुख डा. केनिन राईले दुग्धिका छालालगायत रोगमा, नागफनी पेटसम्बन्धी दुखाइमा र पथरचट्टा पत्थरीको बिरामीका लागि लाभकारी भएको बताए ।

तर परनीदेवीले बिरामीलाई दुग्धिका, नागफनी धेरै मात्रामा र पथरचट्टाको एउटा मात्रै पात दिने गरेको देखियो । उक्त जडिबुटीको मात्रा र खाने विधि नमिलाए उल्टै हानिकारक हुने राई बताउँछन् ।

कोसी अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा. असित घिमिरे अन्धविश्वासको पछि लागेर ज्वरोदेखि जनैखटिरासम्म आउँदा पनि मातागुरुकहाँ जाने प्रथा कायमै रहेको बताए । ‘सामान्यजनको के कुरा अगुवा भनाउँदा नेता एवं समाजसेवी पनि यस्ता ठाउँमा धाउँछन्,’ उनले भने ।

आयुर्वेद चिकित्सक एवं समाजशास्त्री मुकेश सिंहले अनेक खालका धार्मिक आवरणमा बसेकाहरूले आफ्ना एजेन्टमार्फत चलाखीपूर्ण तरिकाले ठगी गरिरहेको बताए । समाजशास्त्री डिल्ली प्रसाईं पूर्वी सभ्यतामा परम्परागत कालदेखि झारफुक, जादुटुना चलाइआएको कुप्रथाले अहिलेको आधुनिक समाजमा पनि निरन्तरता पाइरहेको बताउँछन् ।

‘गोजीमा ५ हजार रुपैयाँ लिएर नगए उपचारै नहुने अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरू यस्तै गुरुमाताको ढोका ढकढक्याउन बाध्य छन्,’ उनले भने ।कान्तिपुर


Last Updated on: August 25th, 2022 at 11:57 am

तपाईको प्रतिक्रिया