Ultimate magazine theme for WordPress.

अब नेपाल एअरलाइन्सले दुबईमा हप्तामा ९ उडान भर्ने

56

काठमाण्डाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स)ले दुबई गन्तव्यमा उडान विस्तार गरेको छ। एअरलाइन्सले दुबईमा हप्तामा सात उडान गर्दै आएकाेमा आज आइतवारदेखि थप दुई उडान थपेर हप्तामा नौ उडान भर्ने भएको हो । दुबई गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको पनि त्यस अवसरमा सहभागिता थियो। त्यस अवसरमा पर्यटनमन्त्री आलेले निगमका जहाजलाई बढीभन्दा बढी गन्तव्य विस्तार गरी उडान थपेर सेवा दिन निगम नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले निगमका जहाज ग्राउन्डेड भन्दा आकाशमा उडिरहने वातावरण बनाउन र गन्तव्यमा उडान थप्नेतर्फ जुट्न निगम व्यवस्थापनलाई अनुरोध गर्नुभयो ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले पर्यटनमन्त्रीले निगम सुधारका लागि देखाउनुभएको तदारुकताले निगमका कर्मचारीमा हौसला र नयाँ ऊर्जा पैदा भएको र यसलाई परिणाममुखी बनाउन लागिपर्ने बताउनुभयो । दुबईमा वैदेशिक रोजगारी तथा व्यवसाय लगायत विभिन्न सिलसिलामा रहेका नेपालीको बाहुल्यता छ । थपिएको उडान हप्ताकाे आइतवार र बुधवार गरिनेछ । यो दिन दैनिक दुई उडान हुनेछ ।

काठमाण्डाैबाट बिहान ११ बजे उडेको जहाज दुबईमा उडान भरेर बेलुका काठमाण्डाै नै फर्किने छ । व्यापारिक हिसाबले पनि निगमका लागि दुबई उपयोगी गन्तव्य मानिन्छ । एअर लाइन्सले भारतको नयाँ दिल्लीमा सात उडान गर्दै आएकोमा अब थप सात उडान थपेर दैनिक दुई उडानका दरले हप्तामा १४ उडान भर्ने तयारी गरेको छ । एअरलाइन्सले अहिले दोहामा पाँच उडान गरिरहेको छ ।

नेपाल एअरलाइन्सले नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ । निगमका अनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा हप्तामा दुई उडान गर्ने गरी तयारी भइरहेको छ । महिना दिनभित्रै उडान सञ्चालन गरिने जनाइएको छ । नेपाल एअर लाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । निगम सँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारोबडी ए ३२० र दुई थान बाइडबडी ए ३३० जहाज छन् । रासस