Wednesday, August 10

Breaking: चर्चित पात्र रोशनी शाही पक्राउ

July 26, 2022

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रबाट रोशनी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

पशुपतिमा आयोजित महायज्ञमा पुगेर हल्ला गरेपछि उनलाई पक्राउ गरिएको हो । सिद्धबाबा भनिने कृष्ण गिरी महायज्ञमा सहभागी छन् ।

उनी बलात्कार आरोपी रहेको भन्दै महायज्ञको विरोध गर्दै होहल्ला गरेपछि उनलाई पक्राउ गरिएको हो । आफ्नै अनुयायीलाई बलात्कार आरोप लागेका सिद्धबाबाले अहिले पशुपतिनाथ क्षेत्रमा महायज्ञ गरिरहेका छन् ।

महायज्ञमा सिद्धबाबालाई रोशनीले ‘बलात्कारी’ भन्दै विरोध गरेका थिए । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको छ । उनले तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कार आरोप लगाएकी थिइन् ।

यो पनि – नागरिकता विधेयक पारित गरेकोमा प्रमुख प्रतिपक्षी दलकी एक सांसदले सत्तापक्षका सांसदलाई लेण्डुप दोर्जेको संज्ञा दिएकी छन् । एमाले सांसद गंगा चौधरीले दिल्लीको भ्रमण गर्ने नेपाली नेतामा लेण्डुप दोर्जेको छायाँ देखिन थालेको भन्दै कटाक्ष गरिन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद चौधरीले नागरिकता विधेयकको संशोधनमा लेण्डुप दोर्जेको छायाँ देखिएको बताएकी हुन् ।

‘सभामुख महोदय, मेरो दृष्टि भ्रम हो या सबैले यस्तै देखिरहेका छन्, सभामुखको दायाँपट्टी बस्ने सबैको अनुहारमा लेण्डुप दोर्जेको याद दिलाएको छ । नपत्याए नागरिकता विधेयकको संशोधनमा हेरे हुन्छ ।

लेण्डुप दोर्जेलाई इन्दिरा गान्धीले दिल्लीमा रातो कार्पेट बिच्छ्याएर भव्य स्वागत गर्ने गरेकी थिइन् जबसम्म सिक्किम भारतमा विलय भएको थिएन’, चौधरीले भनिन्, ‘यसैगरी आजभोलि नेपाली नेतालाई दिल्लीमा भव्य स्वागत गर्न थालिएको छ । यसैले सभामुख महोदय उहाँहरूको अनुहारमा लेण्डुप दोर्जेको छायाँ देखिन थालेको छ ।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै गरेको दिल्ली भ्रमणप्रति लक्षित गर्दै कटाक्ष गरेकी हुन् ।

Comment