बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम, राष्ट्रिय संकट घोषणा – Gandaki Chhadke
Friday, August 12

बेलायतमा अहिलेसम्मकै उच्च तापक्रम, राष्ट्रिय संकट घोषणा

July 26, 2022

लन्डन । बेलायतको राजधानी लन्डनमा आइतबार र सोमबार हालसम्मकै अत्यधिक बढी तापक्रम भएको पाइएको छ ।

मौसम कार्यालयका अनुसार सोमबारको तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री पुगेको छ ।

सन् २०१९ मा क्याम्ब्रिजमा ३८.७ सेल्सियस तापक्रम मापन गरिएको थियो, जुन बेलायतमा अहिलेसम्मकै उच्च मानिएको छ ।

बेलायतको करिब ८० प्रतिशत क्षेत्रमा आज सोमबार र भोलि मंगलबार ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने बताइएको छ ।

मौसम कार्यालयले पहिलोपटक उच्चतम चेतावनी (रेड वार्निङ) जारी गरेको छ । मंगलबारसम्म लन्डन, म्यानचेष्टर, योर्कलगायत क्षेत्रको तापक्रम ४१ डिग्री सेल्सियस आसपासमा पुग्ने बताइएपछि यहाँको जनजीवन थप कष्टकर बनेको छ ।

यसैगरी वेल्स, स्कटल्याण्डका केही भाग र इंग्ल्याण्डका कयौं भागमा पनि सरकारले ‘एम्बर वार्निङ’ जारी गरेको छ । उच्च तापमानका कारण ज्यानको जोखिम हुने भनी अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सतर्क रहन यूके हेल्थ सेक्युरिटी एजेन्सीले चेतावनी दिएको छ ।

ट्रान्सपोर्ट फर लण्डनले सोमबार बिहान १० बजे अघिसम्म भूमिगत रेलमा १.०६ मिलियन यात्रुले मात्र यात्रा गरेको जनाएको छ जुन गत साता यही समयमा भन्दा १८ प्रतिशत कम हो ।

त्यसैगरी बिहान १० बजेसम्म १.०७ मिलियन मानिसले बस यात्रा गरेका थिए जुन अघिल्लो तुलनामा १० प्रतिशत थोरै हो ।अत्यधिक गर्मीका कारण बेलायतमा राष्ट्रिय संकट घोषणा गरिएको छ । उच्च तापक्रमका कारण ज्यानको खतरा हुनुका साथै गम्भीर प्रकृतिको रोगको समेत जोखिम हुनसक्ने बताइएको छ ।

मानिसहरूले आफ्नो दैनिकीमा परिवर्तन गर्नुपर्ने, पानी तथा बत्तीमा समस्या आउनसक्ने, मोबाइल फोनको नेटवर्कमा समस्या तथा सडक, रेल र हवाई सेवामा समेत ढिलाइ हुनसक्ने चेतावनी जारी गरिएको छ ।

सोही विषयलाई लिएर गत शनिबार बेलायती प्रधानमन्त्रीको कार्यालयमा कोब्रा बैठक डाकिए पनि प्रधानमन्त्री बोरिस जोन्सन भने उपस्थित भएनन्, जसका कारण उनी थप आलोचित बनेका छन् ।

बीबीसीका विश्व वातावरण संवाददाता नवीनसिंह खड्का पहिलोपटक इजोर र दोश्रो पटक आइबेरिया हुँदै ताप लहर (हिट वेभ) उत्तरतिर आएको बताउँछन् । यसले फ्रान्स, पोर्चुगल, स्पेन र बेलायत बढी प्रभावित भएको छ ।

सन् २०२० मा बेलायतमा ताप लहरबाट दुई हजार जति मानिसको मृत्यु भएको थियो । यसपटक स्थिति झन् भयावह हुन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

वायुमण्डलमा हावाको लहर (जेट स्ट्रिम) पश्चिमबाट पूर्व बग्नुपर्ने तर एक टुक्रा समुद्रको माथि अड्किन गइ हिट पम्पको काम गरेर त्यसबाट पनि ताप छुटेकाले युरोप र बेलायतमा यति विघ्न गर्मी भएको पत्रकार खड्काको बुझाइ छ ।

सन् १८५० को दशकमा औद्योगिक क्रान्ति सुरु भएयता पृथ्वीको तापक्रम एक दशमलव एक प्रतिशतले बढेको छ । ‘पृथ्वीको तापक्रम यति थोरै बढ्दा त यो हालत छ भने यो शताब्दीको अन्त्यतिर तीन प्रतिशत बढ्ने आँकलनले भविष्यमा यसको प्रभाव निकै प्रतिकुल हुने निस्चित छ’, खड्काले भने ।

बेलायतका घर जाडो याममा न्यानो हुने गरी बनाइएकाले गर्मी बढ्दै जाँदा जोखिम घर भित्रै रहे पनि हुन सक्ने खड्काले बताए । पहिला पहिला एक दुई पटक गर्मी बढ्दा ठिकै लागे पनि अब जलवायू परिवर्तनले गर्मी झन् बढ्दै जाने चिन्ता थपिएको छ ।

सन् २०३० सम्म कार्बन उत्सर्जन ४० प्रतिशत घटाउने विकसित मुलुकको प्रतिवद्धता भए पनि यो झन् बढिरहेको अवस्था छ ।

जलवायू परिवर्तनका कारण तापक्रम बढ्ने क्रम जारी रहेकाले यो विषय गहन रुपमा लिनुपर्ने विज्ञहरूको सुझाव छ । जलवायू परिवर्तनका सवालमा बेलायत सरकारले चालेका कदम आलोचित हुँदै आएका छन् ।

Comment