शुक्रबार १४ आश्विन २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाले महिला कर्मचारीहरुका लागि आज तिज विशेष कार्यक्रम आयोजना गरेको छ । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा महानगरका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोल उपस्थिति थिए ।

मेयर साह कार्यक्रममा बिन्दास मुडमा पेश भए । काठमाडौंका विभिन्न स्थानमा बनेका अवैध संरचना भत्काउँदै हिँडेका उनी तिज कार्यक्रममा भने तनावमुक्त देखिन्थे । सो कार्यक्रममा भाग लिएपश्चात साह वानेश्वर आएर अल्फाबिटा कम्प्लेक्समा डोजर हान्न आइपुगेका थिए ।

तिज विशेष कार्यक्रममा मेयर साह महिला कर्मचारीहरुसँग कम्मर मर्काउँदै नाचेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उपमेयर सुनिता भने नाच्न लजाएकी छन् । उनले उभिएर थपडी मात्रै बजाएको देखिन्छ ।उता काठमाडौं बानेस्वरस्थित अल्फाबिटा कम्पलेक्सका सञ्चालक बालेनको कदमविरुद्धमा कानूनी उपचारको लागि अदालत जाने भएका छन् ।

बिहीबार काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले आफ्नो भवनको संरचना भत्काएपछि विकासन्युजसँग प्रतिक्रिया दिँदै कम्पलेक्सका सञ्चालक द्वीराज राज शर्माले सो कुरा बताएका हुन् ।

सञ्चालक शर्माले आफुहरुको कुरा सुन्ने अवसर नदिइकन नै मेयर बालेन एक्सनमा आएकाले आफुहरुले सचेत मानिसहरुको कुरा सुनेर अदालत जाने बताएका छन् । कम्पलेक्सका सञ्चालका शर्माले मेयर बालेनले आफ्नो भवनको विषयमा यथार्थता नै नबुझीकन एक्सन लिएको उनको भनाइ छ ।

‘मेयर बालेन हाम्रो भवनको विषयमा सबै कुराहरु थाहा भएन, उहाँले नक्सा हेरेको भरमा संरचना भत्काउने निर्देशन दिनुभयो’, उनले भने, ‘यसको विषयमा वास्तविकता र कागजी कामको विषययमा सबै कुरा मलाई थाहा छ, तर, हाम्रो तर्फबाट सबै कुरा स्पष्ट पार्ने समय नदिइकिन उहाँ एक्सनमा जानुभो, अब यसको सत्यतथ्य राखेर हामी कानूनी उपचारमा जान्छौं ।’

महागरपालिकाले निकालेको ३५ दिने सूचना आँफुहरुले थाहा नपाएको सञ्चालक शर्माको भनाइ छ । ‘यो बीचमा म कामको शिलशिलामा धेरै ठाउँमा पुगेँ मलाई थाहा नै भएन’, उनले भने । आफुहरुले गैरकानूनी काम नगरेको र भवनको अन्डरग्राउन्ड क्षेत्रलाई व्यवसायिक प्रयोजन गर्नको लागि नगरपालिकामा जरिवाना समेत तिरेको उनले बताए ।

‘हाम्रो गैरकानूनी काम केही पनि छैन, अन्डरग्राउन्डमा हामीले पार्किङ प्रयोग नगर्ने भनेर व्यवसायिक प्रयोजनका लागि कर तिरेर त्यसलाई मिलाएका छौं’, उनले भने, ‘किनभने अगाडि बाटो बढ्ने वित्तिकै हामीलाई पार्किङको लागि उपयोग गर्ने स्थिति भएन, त्यसपछि वडा र नगरपालिकाले त्यसलाई कमर्सियलकै हिसाबले हुनेगरी हामीसँगबाट जरिवाना सहित पैसा लिइसकेको छ’, उनले भने ।

आफुहरुले जरिवाना समेत तिरेर पार्किङ क्षेत्रलाई व्यवसायिक ढंगले प्रयोग गरेको कुरा नबुझिकन मेयरले एक्सन लिएको सञ्चालकले गुनासो व्यक्त गरेका छन् । ‘हामीले झण्डै ३ रोपनी जति पार्किङको लागि महिनाको २ लाख रुपैयाँ तिरेर प्रयोग गरिरहेका छौं, अरु बैकल्पिक पार्किङको व्यवस्था मिलाएका छौं’,

उनले भने, ‘पहिले पार्किङको व्यवस्था थियो, सडक विस्तारको कारणले गर्दा त्यो उपयोगी हुन सकेन, त्यसले गर्दा सो क्षेत्रलाई कमर्सियल रुपमा नै प्रयोग गर्नको लागि जरिवाना तिरेर प्रयोग गर्यौं । तर, त्यो विषयमा मेयरले थाहा नपाइकन उहाँले एक्सन लिनुभो ।’


Last Updated on: August 25th, 2022 at 8:24 pm

तपाईको प्रतिक्रिया