Ultimate magazine theme for WordPress.

रामचन्द्र पौडेलले कुनै पनि पदमा दिएनन् उम्मेदवारी

17

काठमाडौं : काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कुनैपनि पदमा उम्मेदवारी दिएनन् । निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयमा पौडेलले कुनै पनि पदमा उम्मेदवारी नदिएका हुन् । पौडेल यस अघि सभापतिको आकांक्षी थिए भने आफ्नो समूहमा सहमति नभएर विभाजन आएपछि कुनैपनि पदमा उम्मेदवारी दर्ता नगराएका हुन् ।

आजै एक विज्ञप्तिमार्फत पौडेलले १४ औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट आफू अलग भएको बताएका थिए । उनले राष्ट्रिय राजनीतिमा भने आफ्नो भूमिका रहिरहने प्रस्ट पारेका थिए । पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने थलोमात्र नभएर यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिन आवश्यक हुने उनले बताएका छन् । ‘म नेपाली काँग्रेस पार्टीका तमाम कार्य कर्ता र महाधिवेशन प्रतिनिधिहरूलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकता बद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु,’ पौडेलले विज्ञप्तिमार्फत भनेका छन् ।

काँग्रेसमा अहिले विचलन आइरहेको अनुभव आफूले गरेको पनि उनले खुलाएका छन् । ‘पार्टी सत्ताको भर्‍याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बीपी, गणेशमान र किशुन जीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो,’ उनले भनेका छन्, ‘त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेको छ ।’ संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको पौडेलको टिप्पणी छ ।

‘चौधौं महाधिवेशनमा आइ पुग्दा मैले अनेक प्रपञ्च भोगेको छ, प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरि रहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नु पर्ने अवस्थामा म पुगेँ,’ उनले भनेका छन्, ‘तथापि एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्ति विरु’द्ध भने ल’डि नै रहनेछु ।’ यस्तै कृष्णप्रसाद सिटौला, परराष्ट्र मन्त्री डा.नारायण खड्काले पनि कुनै पदमा उम्मेदवारी दर्ता गराएनन् । यस्तै यसअघि सभापतिको आकांक्षी रहेका महामन्त्री शशांक कोइरालाले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।