बाँकेको कोहलपुर नगरपालिका- १४ स्थित पार्वतीपुर निवासी दम्पतीको हत्या योजना दाजुले नै बनाएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार भाइ-बुहारी २२ वर्षीय कृष्ण गडरिया र २१ वर्षीया अञ्जली गडरियाको हत्या योजना दाजु विजय गडरियाले बनाएको खुलेको हो।
विजयलाई घटनास्थलमा शंकास्पद अवस्थामा भेटेपछि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालकाे थियाे। अनुसन्धानका क्रममा विजयले याेजना बनाई सुपारी समेत दिएर मार्न लगाएकाे स्वीकारेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्र.उ.श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन्।
विजयले प्रहरीलाई दिएकाे बयानअनुसार केही महिनाअघि मृतक कृष्ण र उनका बुबा घिरन गडरियालाई मृतक अञ्जली गडरियाले उस्काएर विजयलाई घरायसी विषयलाई लिएर कुटपिट गर्न लगाएको कारण विजयले रिसिभि लिएर १८ दिनअघि केही व्यक्तिलाई भाइ–बुहारीलाई मार्न सुपारी दिएका थिए।
साेही याेजनाअनुसार साेमबार राति ती व्यक्तिलाई बाेलाएर कृष्ण र अञ्जलीलाई मार्न लगाएका हुन्। प्रहरीका अनुसार पत्नी अञ्जली घरभित्र र पति कृष्ण घर बाहिर मृत भेटिएका थिए। प्रहरीका अनुसार घटनास्थलमा चुँडिएको डोरी भेटिएको थियो।
त्यस्तै घटनास्थल रगताम्य थियो। घटनाका क्रममा ज्यान गुमाएका र आक्रमणमा संलग्नबीच घम्साघम्सी भएको देखिएको थियो।
कृष्णको दायाँ हातको नाडीमा धारिलो हतियारले काटेको चोट देखिएको थियो। त्यस्तै पत्नीको घाँटीमा डोरी भेटिएपछि प्रहरीले हत्या अनुमानसहित अनुसन्धान अघि बढाएको थियो।
मृतक दम्पतीको शरीरमा चोट र घटनास्थल रगताम्य देखिएपछि दाजुसहितका शंकास्पदमाथि प्रहरीले अनुसन्धान थालेको थियो।
डीएसपी न्यौपानेका अनुसार हत्याका योजनाकार दाजु र उनकी श्रीमती घरमै थिए। उनीहरुका बाबुआमा एक साताअघि नै बोलबम तीर्थयात्राका लागि भारततिर गएका थिए।
Comment