दुवै शवको देवघाटमा अन्त्येष्टि, श्रीमतीको हत्या पछी यही घरको छतबाट हाम फालेका थिए कृष्णले – Gandaki Chhadke
Friday, August 12

दुवै शवको देवघाटमा अन्त्येष्टि, श्रीमतीको हत्या पछी यही घरको छतबाट हाम फालेका थिए कृष्णले

July 26, 2022

आइतबार भरतपुर–१०, रमाइलोचोकमा अत्यन्तै न्दुखाद घटना घट्यो । श्रीमतीको हत्यापछि आत्महत्या गरेको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । दुवै पक्षले आआफ्नो हिसाबले जाहेरी दिएको चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

दुवै परिवारले प्रहरीमा अनुसन्धान गरिपाऊँ भनी प्रहरीमा जाहेरी दिएका छन् । मृतक महिलाको बुबाले घटनाको छानबिनका लागि सोमबार नै जाहेरी दिएका छन् । हाम फालेर मृत्यु भएका कृष्णको तर्फबाट उनकी आमाले प्रहरीमा जाहेरी दिएकी छन् ।

दुवै शवको सोमबार भरतपुर अस्पतालमा पोस्ट मार्टम भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार तीनतलामाथिबाट हाम फालेका श्रीमानको खप्पर फुटेर र श्रीमतीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको पोस्ट मार्टममा देखिएको छ ।

पोस्ट मार्टमपछि दुवै पक्षले आआफ्नो तर्फको शव बुझेका छन् । दुवै शवको सोमबार बेलुकी देवघाटमा अन्त्येष्टि गरिएको छ ।

मृतक महिलाको माइती पक्षले नाम किटेर जाहेरी नदिएको तर घटनालाई यो अवस्थासम्ममा ल्याउन भूमिका खेलेको भनी जाहेरीको पेटबोलीमा उल्लेख गरेको चितवन प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेका श्रीमान्को पनि मृत्यु भएपछि अनुसन्धान जटिल बनेको छ ।

४० वर्षीय कृष्ण आचार्य ६ वर्षको दुवईपछि गत जेठ महिनामा घर फर्किए । घरपरिवारमा थाहै नदिई एक्कासि दुवईमा भएका श्रीमान् घर आएपछि श्रीमती रूष्मा र छोरी रोयस्ना अचम्मित बने । लामो समय विदेश बसेर आएका श्रीमान्ले आउनेबित्तिकै श्रीमतीको घाँटी अँठ्याए । घटनाको प्रत्यक्षदर्शी थिइन् छोरी ।

अन्य व्यक्तिसँग श्रीमतीको सम्बन्ध रहेको शङ्का गरेका कृष्णले आउनेबित्तिकै ज्यानै लिनेसम्मको प्रयास गरेपछि असार २ गते रूष्मा जिल्ला प्रहरी कार्यालय चितवनमा घरेलु हिंसासम्बन्धी निवेदन लिएर पुगिन् । असार ३ गते प्रहरीले महिला सेलमा छलफल गरायो । त्यतिखेर छलफल निष्कर्षमा नपुगेपछि असार १७ गते दोस्रोपटक पुनः बोलायो ।

रूष्माले यसपटक आफ्नो माइती पक्षको बुबा नआएको भनी केही समय दिन आग्रह गरिन् । प्रहरीले असार ३१ गतेका लागि पुनः बोलायो । त्यसदिन प्रहरीमा सहमति भयो । दुवैजनाले सहमति कागजमा हस्ताक्षर गरेका छन् । तर, रोहवरमा कोही पनि छैनन् । सहमतिपत्रमा दुवैजनाले कानुनी प्रक्रिया अपनाउने र आआफ्नो सुरले बस्ने भन्ने छ ।

सरकारी विद्यालयमा पढाउने रूष्माले श्रीमान्बाट शारीरिक, मानसिक र आर्थिक तीन खाले यातना पाएको भनी दिएको घरेलु हिंसाको निवेदनले अशान्त बनेको घरपरिवारलाई आआफ्नो बाटो लाग्ने सहमतिसम्म पु¥यायो । तर, कानुनीरुपमा छुट्टिने भनी आपसमा दुई जनामात्रै उपस्थित भएर गरेको सहमति कार्यान्वयन प्रक्रियामा रहँदैमा श्रीमान् कृष्णले श्रीमती रूष्माको हत्या गरे ।

भरतपुर–१० स्थित रमाइलोचोकमा ३ तले घर छ । घरका दुईवटा तला भाडामा छन् भने त्योभन्दामाथि श्रीमती र छोरी भिन्न भान्सा गरेर बस्दै आएका थिए । छोरा विदेशबाट आएपछि आमा पनि एकसाथ भएर त्योभन्दा पनि माथिल्लो तलामा आमाछोरा बस्दै आएका थिए । सोमबार पशुपति दर्शनका लागि जाने भनी आमा आइतबार नै घरबाट निस्केर आफन्तकोमा गएर बसेकी थिइन् । छोराले बुहारी हत्या गर्दा आमा आफन्तकोमा थिइन् भने छोरी त्यहीँ थिइन् ।

आइतबार रातको १० बजेतिर धारिलो हतियारले श्रीमतीलाई प्रहार गरेपछि कृष्ण पनि तीनतले घरको छतबाट अगाडि सडकपट्टि हाम फाले । ढलान गरेको घरको आँगनमा बजारिएका उनी घाइतेपश्चात् उपचारको क्रममा मृत घोषणा भए । प्रहरीकोमा मात्र नभई टोलछिमेकमा पनि उनीहरुबीचको विवादलाई लिएर पटकपटक मिलाउने प्रयास भएको थियो ।

तर, घटना मिल्नुभन्दा थप उग्र बन्दै गयो । सोही घरमा भाडामा बस्नेहरु भने विवाद हुने गरेकोबारे आफूहरुलाई थाहा नभएको बताउँछन् । रूष्माको हत्या अनुसन्धानको विषय बन्दै गर्दा कृष्ण हत्या गरेर भाग्न खोजे वा हाम फालेर आत्महत्या गरे भन्नेचाहिँ अर्को अनुसन्धानको विषय बनेको छ ।

सम्बन्ध विच्छेदको प्रक्रियामा रहेका उनीहरु आइतबार दुवै जना संसारबाटै बिदा भए । जिल्ला प्रहरी कार्यालयकाप्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार घटनाको प्रकृति हेर्दा कृष्णप्रसादले श्रीमतीको हत्या गरी आत्महत्या गरेको देखिएको छ ।

रुष्माको माइती पूर्वी चितवनको रत्ननगर–१६, पिठुवामा पर्छ । उनी द्वारिकादास माविका निवर्तमान प्रधानाध्यापक नेत्र घिमिरेकी छोरी हुन् । घटनापश्चात् उनको माइतीगाउँ पिठुवा पनि शोकमा डुबेको छ ।

Comment